सूचनाको शक्ति - The Power Of Information

        

जीपको ठक्करबाट एकको मृत्यु, दुई घाइते

दाङ । रोल्पामा जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका–८ अरेस निवासी ४६ वर्षीय राहुल मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बुधबार राति करिब साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृति गाउँपालिका ८ तल्लोपानीस्थित सुलिचौर–अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जीपले ठक्कर दिँदा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइते मगरलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

जीपको ठक्करबाट अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६ वर्षीय राजेन्द्र पुन र ३५ वर्षीया रिमा पुन रहेका छन् । उनीहरूलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरबाट सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १४:०२