सूचनाको शक्ति - The Power Of Information

        

दाङका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

फाइल तस्वीर

दाङ । दाङका २ जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय र ८१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

५६ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान करिब २ बजेर २० मिनेट मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा २५ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका बिरामी थिए । त्यस्तै, वडा नं ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहीबार बिहान साढे ३ बजे मृत्यु भएको उनले बताए ।

कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए ।

दाङ जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३ जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १३:५३