सूचनाको शक्ति - The Power Of Information

        

नयाँ संक्रमितसँगै मृतकको संख्या बढ्दै, बुधबार एकै दिन करिब ११ हजारले ज्यान गुमाए

काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एक दिन करिब ११ हजार जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र १० हजार ८३६ जना संक्रमितले ज्यान गुमाएका हुन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ९०६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३९ प्रतिशत हो।

हालसम्म विश्वभर पाँच करोड ६५ लाख ४४ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितमध्ये ६९.५७ प्रतिशत अर्थात् तीन करोड ९३ लाख ३५ हजार ६०२ जना उपचारपछि निको भइसकेका छन्।

बाँकी एक करोड ५८ लाख ५४ हजार ८१९ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५६ हजार २०६ जनाको मृत्यु भइसकेको छ।

गत २४ घण्टामा त्यहाँ थप एक हजार ९०८ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६७ हजार ४९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३१ हजार ६१८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९९ हजार २६, बेलायतमा ५३ हजार २७४, इटलीमा ४७ हजार २१७, फ्रान्समा ४६ हजार ६९८, स्पेनमा ४२ हजार ३९, इरानमा ४२ हजार ९४१, पेरूमा ३५ हजार ३१७, अर्जेन्टिनामा ३६ हजार ३४७, कोलम्बियामा ३४ हजार ५६३ तथा रसियामा ३४ हजार ३८७ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०८:२४