सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद :

सचिवालय बैठक तय भएकै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

एक बजे बालुवाटारमा बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारमा आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

सत्तारूढ दल नेकपाले बुधबार दिउँसो सचिवालय बैठक तय भएको समयमा नै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मन्त्री परिषद् बैठक बोलाएका हुन्। कात्तिक २८ गतेको सचिवालय बैठकले आज एक बजे बालुवाटारमा बैठक बस्ने निर्णय गरेको थियो।

आजका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको छ। बालुवाटारमा सचिवालय बैठक बोलाएको समयमा नै मन्त्री परिषद्को बैठक बोलाइएकाले नेकपा भित्र विवाद झन् बढेको छ।

यसैलाई संकेत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज बिहान लेखेको स्टाटस लेखेको कतिपयले आशंका गरेका छन्। उनले फेशबुकमा ‘सर्वाधिक कठिन समय !’उल्लेख गरेका छन्।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ।

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए।

तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।

दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ०९:२०