सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो ।
गाउँपालिकाको अन्य वडामा संक्रमण नदेखिएको भए पनि वडा नम्बर ४ को प्रत्येक गाउँमा कोरोना संक्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि संक्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।
सोमबारसम्म ५३ जना रहेको कोरोना संक्रमितको सङ्ख्या मंगलबार ५९ जनाको एन्टिजेनबाट परीक्षण गर्दा तीन थपिएसँगै कोरोना संक्रमितको सङ्ख्या नाम्खा गाउँपालिकामा ५६ पुगेको फडेराले बताए । पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मंसिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मंगलबार थप तीन जनामा संक्रमण देखिएको हो ।
हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नम्बर ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन् । यस्तै दुई कोरोना संक्रमितलाई महँगो हवाईभाडा रु १०÷१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ ।
नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ । उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन छन् । याल्वाङमा दैनिक कोरोना संक्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ ।
सत्यपाटी ।