लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ५९८ जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यतिधेरै मृत्यु भएको यो नै पहिलो हो । यो संख्या गत मे महिनापछिकै सबैभन्दा बढी हो । हालसम्म कोरोनाका कारण बेलायतमा ५२ हजार ७४५ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी २४ घण्टाभित्र २० हजार ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख १० हजार ७३२ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ६०१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ३९१ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १५ हजार ८३० पुगेको छ ।
सत्यपाटी ।