सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

दोस्रो लहरमा कोरोना संक्रमण तीव्र, खोपले मात्रै महामारी नियन्त्रण हुँदैन : डब्ल्युएचओ

काठमाडौं । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् ।

बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभरका ५ लाख ५३ हजारभन्दा बढी मानिसमा संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ३१ हजार ६४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २०० भन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म ३ करोड ८४ लाख ६३ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा असर देखिएको छ । त्यहाँ १ करोड १५ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ ।

अमेरिकामा मात्रै २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ । यस्तै भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण भएको छ । भारत विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । यस्तै धेरै संक्रमित भएको मुलुकको सूचीमा ब्राजिल, फ्रान्स, रसिया, स्पेन क्रमश तेस्रो, चौथो, पाँचौँ र छैठौँ स्थानमा छन् ।

खोपले मात्रै पुग्दैन

विश्वमा कोरोना भाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए । यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार १४:२७