सूचनाको शक्ति - The Power Of Information

        

रात्री समयमा वन्यजन्तु हेर्न ‘ट्री हाउस’

बर्दिया । बर्दियाको मुख्य पर्यटकीयस्थल ठाकुरद्वाराको बानुगाउँमा ट्री हाउस निर्माण गरिएको छ । वन उपभोक्ता समूह र ठाकुरबाबा नगरपालिकाको साझेदारीमा ट्री हाउस निर्माण गरिएको बानुगाउँ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव बासुदेव भट्टराइले जानकारी दिए ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि रातीको समयमा पनि वन्यजन्तु अवलोकन गर्न सहज होस् भन्ने उद्धेश्यका साथ ट्री हाउस निर्माण गरिएको हो । ठाकुरबाबा नगरपालिकाको करिव पाँच लाख तथा बानुगाउँ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको दुई लाख ७७ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको छ ।

ट्री हाउसमा बास बस्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि फरक फरक शुल्कदर तोकिएको छ । स्वदेशी पर्यटकका लागि एक रातको ५०० रुपैयाँ र विदेशी पर्यटकका लागि ७०० रुपैयाँ तोकिएको हो । उक्त ट्री हाउसको सहायताबाट पर्यटकहरूले रातिको समयमा पनि वन्यजन्तु अवलोकन गर्नसक्ने पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए ।

बर्दिया क्षेत्रको पर्यटन प्रवर्द्धनमा पछिल्लो समय ठाकुरबाबा नगरपालिकाले प्राथमिकता दिँदै आएको छ । कृषि र पर्यटनबाटै बर्दियाको समृद्धि हुने भएकाले यसतर्फ विशेष ध्यान दिइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । बर्दिया पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । पाटे बाघ, हात्ती, गैँडा लगायतका वन्यजन्तु अवलोकन र सतखलुवा बढैया लगायतका तालहरू अवलोकनका लागि पर्यटकहरू बर्दिया आउने गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार १३:४९