सूचनाको शक्ति - The Power Of Information

        

तत्कालीन अर्जुनधारा गाविसका अध्यक्ष भट्टराईको कोरोना संक्रमणबाट मृत्यु

झापा । सत्तारुढ नेकपाका नेता एवं झापाको तत्कालीन अर्जुनधारा गाविसका अध्यक्ष कुन्दन भट्टराईको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

काठमाडौँमा उपचाररत अर्जुनधारा ५ निवासी ६२ वर्षीय भट्टराईको शुक्रबार बेलुका साढे सात बजेतिर मृत्यु भएको हो। उनी राजधानीको भैँसेपाटीस्थित मेडिसिटी हस्पिटलमा उपचाररत थिए।

उनलाई कात्तिक २३ गते एयर एम्बुलेन्सबाट काठमाडौँ लगिएको थियो। फोक्सोमा क्यान्सर भएका उनलाई काठमाडौँमा लगेर पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभको रिपोर्ट आएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि रानाले बताए। केही दिनदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भट्टराई २०५१ सालमा गुठी संस्थानको महाप्रबन्धक भएका थिए। त्यस्तै २०५४ सालको निर्वाचनमा उनी तत्कालिन अर्जुनधारा गाविसको अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि उनी जिविस झापाको संयन्त्र सदस्य पनि भएका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार ०९:३६