सूचनाको शक्ति - The Power Of Information

        

यमपञ्चकको आज तेस्रो दिन

धनधान्यकी देवी लक्ष्मीको पूजा, आजै कुकुर तिहार मनाइँदै

बाँके । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत

यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए । ‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गतवर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले,’ उनले भने ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गर्नुभएको छ । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उहाँको आरोप छ । धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उहाँको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ । आज कुकुरलाई पूजा गरी माला लगाइदिने गरिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।

त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

अरुणोदयकालमा नरक चतुर्दशी स्नान र दीपदान

कार्तिक कृष्ण चतुर्दशीको बिहान आज अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिएको जानकारी अनुसार कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार ०७:००