सूचनाको शक्ति - The Power Of Information

        

मारमा किसान, फस्टाउँदै विचौलिया

लुम्बिनी प्रदेशमा धान उत्पादन बढ्यो, किसानलाई समर्थन मूल्य पाउनै मुस्किल

फाइल तस्वीर

बाँके । लुम्बिनी प्रदेशमा यस वर्ष धान उत्पादनमा करिब २१ हजार मेट्रिक टनले वृद्धि हुनसक्ने अनुमान गरिएको छ । गत वर्षभन्दा यस वर्ष १६ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती भएको थियो । धान खेतीको क्षेत्रफल बढेसँगै उत्पादनमा समेत वृद्धि हुने प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धान खेती गरिएको क्षेत्रफल बढेकाले गत वर्षभन्दा करिब २१ हजार मेट्रिक टन वृद्धि हुने अनुमान छ । प्रदेशमा यस वर्ष अहिलेसम्म गत आर्थिक बर्षको भन्दा १८ हजार ३४१ मेट्रिक टन धान बढी उत्पादन भइसकेको छ । अन्तिम समयसम्म धान उत्पादनको दर बढ्ने कृषि, भूमि तथा सहकारी मन्त्रालयको अनुमान छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ११ लाख ५९ हजार ४९५ मेट्रिक टन धान उत्पादन भएकोमा चालू आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख ७७ हजार ८०० मेट्रिक टन धान उत्पादन भइसकेको छ । प्रदेशका केही क्षेत्रमा बल्ल धान काट्दै गरेको अवस्था रहेकाले उत्पादनको उक्त आँकडामा अझै वृद्धि हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत दीनबन्धु पौडेलले यस वर्ष धान उत्पादन गत वर्षभन्दा करिब २१ हजार मेट्रिक टन बढी हुने देखिएको बताए । बाली विकास अधिकृत पौडेलले प्रदेशमा गत वर्षभन्दा यस वर्ष १६ हजार २४१ हेक्टर बढी क्षेत्रफलमा धान खेती भएको पनि जानकारी दिए ।

गत वर्ष तीन लाख एक हजार २०० हेक्टरमा धान खेती गरिएकामा यस वर्ष तीन लाख १७ हजार ४१४ हेक्टरमा धान खेती भएको छ । यस वर्ष उत्पादन भएको धान सूचीकृत स्थानीय सहकारीमार्फत खरिदसमेत हुन थालेको छ । कतिपय स्थानीय सरकारले किसानलाई समेत अनुदान दिन थालेका छन् तर त्यस्तो अनुदानमा एकरूपता भने छैन ।

किसानको धान समर्थन मूल्यमा खरिद गरेबापत सहकारीले परियोजनामार्फत प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । उन्नत बीउमा अनुदान दिएको प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयले धान खरिदमा अनुदानबारे छुट्टै केही निर्णय गरिसकेको छैन ।

फाइल तस्वीर

प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत अनिल बानियाँले प्रदेश कृषि मन्त्रालयले धानको उन्नत जातको बीउ उत्पादनमा सहकारीमार्फत कृषकलाई अनुदान दिने गरेको भए पनि धान खरिदमा भने अहिलेसम्म अनुदानको छुट्टै व्यवस्था भइनसकेको जानकारी दिए । ‘अनुदानबारे अहिलेसम्म कुनै छुट्टै व्यवस्था छैन,’ बानियाँले भने ।

यद्यपी बाँकेमा गल्ला व्यापारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अस्वीकार गरेका छन् । गल्ला व्यापारीले धान खरिद नगरेपछि बाँकेमा सहकारी संस्थाले किसानबाट धान खरिद सुरु गरेका छन् । जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार जिल्लाभर १३ वटा सहकारीले किसानबाट धान खरिद गरिरहेका छन् ।

हालसम्म सहकारीहरूले करिब २० हजार क्विन्टल धान खरिद गरिसकेको सहकारी सङ्घका अध्यक्ष सुवेदीले बताए । किसानबाट खरिद गरेको धान बिक्री हुने सुनिश्चितता नभएकाले धेरै धान खरिद गर्न सहकारीलाई समस्या भएको बताए । उनले सहकारीसँग पर्याप्त मिल नभएकाले भविष्यमा समस्या हुनसक्ने चिन्ता रहेको बताए । बाँकेमा सहकारीका दुईवटा मात्रै मिल छन् ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ८८५ रुपैयाँ तोके पनि गल्ला व्यापारी भने प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार २०० सम्ममा धान खरिद गर्न इच्छुक छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले अनुसार मौसम अनुकुल भएकाले यस वर्ष बाँकेमा धानको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले तिहारलगत्तै किसानबाट धान खरिद गर्ने आन्तरिक तयारी गरिरहेको कार्यालय प्रमुख निर्मल थापाले बताए । उता बर्दियामा भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिद सुरु गरेको छ । सरकारले तोकेको समर्थन मूल्यअनुसार नै धान खरिद जनाइएको छ ।

कम्पनीका शाखा प्रमुख धर्मराज पन्तका यस वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ रुपैयाँमा खरिद सुरु गरिएको छ । कम्पनीले पहिलो चरणमा राजापुर क्षेत्रबाट २५ हजार क्विन्टल मोटा धान खरिद गर्र्नेछ । यस वर्ष ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस वर्ष चाँडै नै धान खरिद सुरु गरिएको छ ।

बिचौलियाले तोकेको मूल्यमा अधिकांश किसान धान बेच्न बाध्य भएको राजापुरका किसान पहाडी थारूले बताए । बर्दियाका साना किसान कृषि सहकारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमै धान खरिद गरेको किसानहरुको गुनासो छ । बढैयाताल–६, मैनापोखरमा रहेको साना किसान कृषि सहकारी संस्थाले कृषकबाट मोटा धान प्रतिक्विन्टल दुई हजार ४५० रुपैयाँमा खरिद गरिरहेको संस्थाका अध्यक्ष विष्णु लम्सालले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १५:४१