सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यकर्मी निराश

भेरी अस्पतालमा जोखिम भत्ताको डेढ करोड रकम थन्कियो, स्वास्थ्यकर्मीको खल्ती रित्तै

बाँके । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ महामारीविरुद्ध दिनरात खटिएका भेरी अस्पतालका चिकित्सक तथा नर्सले हालसम्म पनि जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

अस्पतालले हालसम्म पनि कोभिड–१९ महामारीमा जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो नदेखाएको स्वास्थ्कर्मीहरुको गुनासो छ । कोभिड–१९ का बिरामीको उपचार तथा रेखदेखमा सुरुदेखि नै निरन्तर खटिए पनि अझैसम्म जोखिम भत्ता नपाएको भेरी अस्पतालका स्वास्थ्यकर्मी होमनाथ सुवेदीले गुनासो गरे ।

उनले सङ्घीय सरकारले भेरी अस्पताललाई भत्ता वितरणका लागि भदौ २४ गते नै एक करोड ६४ लाख रुपैयाँ पठाए पनि तिहार आइसक्दासमेत स्वास्थ्यकर्मीलाई वितरण नगरेर उक्त रकम थन्क्याएर राखिएको बताए । स्वास्थ्यकर्मी सुवेदीेले दशैँमा भत्ता पाइने आशामा सबै रहे पनि तिहारमा समेत नपाइने अवस्था देखिएपछि कर्मचारी र स्वास्थ्यकर्मी निराश बनेको बताए ।

सरकारले कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई गत चैत ११ देखिकै जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, आठ महिना बित्दा पनि अग्रपंक्तिमा खटिएका भेरी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् ।

दिनरात नभनी सेवामा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताबाट वञ्चित गरिएको उनीहरुको गुनासो छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न जोखिम मोलेरै काममा खटिएकाहरुको मनोबल बढाउन सेवासुविधा बढाउनुको साटो भेरी अस्पतालले दिनुपर्ने जोखिम भत्तासमेत नदिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरिरहेका छन् ।

स्वास्थ्यकर्मी होमनाथ सुवेदीले केहीदिन अघिमात्रै अस्पतालका ३०० कर्मचारीले हस्ताक्षर गरेर जोखिम भत्ताको माग गरेपछि अस्पताल प्रमुख डा.प्रकाश थापाले छिट्टै वितरण गरिने आश्वासन दिए पनि हालसम्म नपाइएको बताए । अस्पतालका प्रमुख डा.थापाले सरकारले जोखिम भत्ता नै भनेर रकम नपठाएको जनाउँदै बिरामीको सोधभर्ना भनेर उक्त रकम पठाएकोले सो रकमबाट बचत भएको रकम नै भत्तामा वितरण गरिने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:५८