सूचनाको शक्ति - The Power Of Information

        

बजारमा बेतिथि

बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना, चारवटा बाख्रा नियन्त्रणमा !

बाँके । नेपालगन्जमा खसीको मासु भनेर बाख्राको मासु बिक्री हुने गरेको खुलासा भएको छ । नेपालगन्जका मासु पसलको अनुगमनका क्रममा खसीको मासु भन्दै बाख्राको मासु बिक्री हुने गरेको फेला परेको हो ।

नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्जमा रहेका मासु पसलको शुक्रबार अनुगमनका क्रममा बाख्राको मासु बिक्री हुने गरेको भेटिएको छ । अनुगमन टोलीले नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवानासहित बन्द गराएको छ ।

वाणिज्य कार्यालयले उक्त फ्रेस हाउसलाई जरिवानासमेत गराएको हो । सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठका अनुसार पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

पसलमा राखिएका चारवटा बाख्रासमेत टोलीले नियन्त्रणमा लिएको छ । मासु पसलको अनुगमनका क्रममा थ्री स्टार फ्रेस हाउसका सञ्चालक अख्तर अलिले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेको फेला परेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष प्रभातकुमारी ठकुरीले जानकारी दिए ।

यसैगरी अनुगमनका क्रममा बिना अनुमति पसल सञ्चालन गरेकोसमेत पाइएको छ । फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकरी दिए ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा जोड दिन अभियान सञ्चालन गरिने बताइन् । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:३८