सूचनाको शक्ति - The Power Of Information

        

बैतडी बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो (सूचीसहित)

बैतडी । बैतडीको खोड्पेमा गएराती दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।

दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का र्तकराज गिरी रहेका छन् ।

त्यसैगरी दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गयराती साढे १० बजे पाटन नगरपालिका ८खोड्पेमा दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:२१