सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने जनाएको छ ।

महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरेर बेरोजगारहरुले आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

महानगरपालिकाले रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीको जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाको सूचानामा उल्लेख छ ।

त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

यसअघि परोपकारी केही संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए ।

स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ ।

अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सञ्चालन गर्न महानगरपालिकाले सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ११:४०