सूचनाको शक्ति - The Power Of Information

        

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने गरि बैठक बोलाउनु भएको छ । उहाँले यसबारे सचिवालयका सदस्यहरुलाई जानकारी गराउनुभएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आएका थिए ।तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरेपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार लिखितपत्र दिएरै बैठकको माग गरेका थिए ।

प्रचण्ड–नेपाल समूहले हिजो बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो ।सचिवालय बैठक बोलाउने विषयलाई दुई पक्षले प्रतिष्ठाको विषय बनाउँदा नेकपामा विभाजन हुने खतरा बढेको नेताहरुले नै बताउँदै आएका थिए ।

ओली सहमत नभए कार्यकारी अध्यक्षको हैसियतमा आफैले सचिवालय बैठक बोलाउने प्रचण्डले तयारी गर्नु भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ०८:३२