सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकार

नरैनापुरमा ढिलासुस्ती अन्त्यको प्रयास, प्रविधिमैत्री बन्दै ‘गाउँपालिका’

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले दैनिक प्रशासनीक तथा सेवामूलक कार्यहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै स्थानीय सरकारले जनतालाई दिनुपर्ने सिंहदरबारको प्रत्याभूति दिने गरी कार्य सञ्चालन थालिएको जनाएको छ ।

यसले दैनिक प्रशासनीक र सेवामूलक कार्यहरुमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरिएको छ । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीको पहलमा गाउँपालिकाका प्रशासनीक र सेवामूलक कार्यहरुलाई चुस्त र दुरुस्त बनाउन पहल थालिएको ल्याइएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

गाउँपालिकाले सूचना तथा अभिलेख केन्द्र स्थापना, सफ्टवेयरमार्फत दर्ता चलानीका साथै कर्मचारीहरुलाई अनुशासित बनाउन विद्युतिय हाजिरीको सुरुवात गरेको छ । केही महिनाअघि नेपालगन्जमा रहेको सम्पर्क कार्यालय विस्थापित गरेको गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई विभिन्न सम्मानका कार्यक्रमहरु गर्दै आएको पनि सूचना अधिकारी मिश्राले जानकारी दिए ।

गाउँपलिकाले दरबन्दी अनुसारको वडा कार्यालयमा प्राविधिक कर्मचारीको ब्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा कर्मचारी पदपूर्तिसँगै करार कर्मचारीको श्रम ऐन बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण तथा गाउँपालिकाबाट दिइने सेवाहरुलाई थप प्रभावकारी बनाउन कर्मचारीहरुको कार्य विभाजन गरेर नियमित काममा खटाएको छ ।

सफ्टवेयरमार्फत व्यक्तिगत घटना दर्ता अभिलेखिकरणको सुरुवात गरेको गाउँपालिकाले सबै वडामा इन्टरनेट ब्यवस्थापन एवं सञ्चालन गरी सरल र छिटोछरितो सेवा प्रवाह गर्दै कार्यालयमा हुने ढिलासुस्ती अन्त्यको प्रयाससमेत गरेको छ । गाउँपालिकाले नियमितरुपमा कार्यपालिका बैठक तथा गाउँ सभा सञ्चालन गरिरहेको पनि सूचना अधिकारी मिश्राले जानकारी दिए ।

गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिनेगरी काम भइरहेको बताए । उनले भने, ‘सरकारले नागरिकलाई दिने सेवा चुस्त बनाउनुपर्छ, त्यसका लागि नागरिक र सरकारका बीचमा काम गर्न खटिएका कर्मचारी थप क्रियाशिल हुनुपर्छ । अनिमात्र नागरिकले सहजरुपमा सेवा पाउँछन् ।’

उनले गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै लैजाने र नागरिकका काममा कहिँकतै ढिलासुस्ती हुन नदिने गरी काम भइरहेको बताए । सुशासनको अवस्था सुधार गर्न र नागरिकलाई दिइने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै लिएको पनि बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:००