सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वीका विद्यालय तिहारपछि खुल्ने

फाइल तस्वीर

बझाङ । जयपृथ्वी नगरपालिकाभित्रका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । जयपृथ्वी नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकहरुको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई लागु गरी स्कुल सञ्चालन गर्ने निर्णय गरेका हुन् । मंसिर ३ गतेबाट पठनपाठन सुरु गर्न अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख बिरेन्द्र खड्काले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरेर विद्यालयहरु लगाउनुको बिकल्प नभएको जयपृथ्वी नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले जानकारी दिए । कोरोना महामारी सुरु भएको लामो समयपछि विद्यालय खोल्ने निर्णय स्वागत योग्य भएको अनेरास्ववियु बझाङका संयोजक प्रबिन्द धामी बताए ।

शैक्षिक अवस्था लथालिङ्ग भएको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरेर विद्यालय सञ्चालन गर्न चुनौतिसमेत रहेको छ । यसअघि बझाङको बुंगल नगरपालिका, तलकोट गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिकाभित्रका विद्यालयहरु कार्तिक १५ गतेबाट सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०९:२३