सूचनाको शक्ति - The Power Of Information

        

तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

काठमाडौं  । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ ।

बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

तिहार र छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो ।

उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो ‘मोडालिटी’मा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताउनुभयो ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको सचिव श्रेष्ठले बताउनुभयो ।

महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृतरुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०७:२५