सूचनाको शक्ति - The Power Of Information

        

ट्रकको ठक्करबाट मृत्यु भएका तीनै जनाको सनाखत

दाङ । दाङमा ट्रककले ठक्कर दिँदा घटनास्थलमै मृत्युु भएका मोटरसाइकलमा सवार ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलिसकेको जानकारी दिएको हो । तर, प्रहरीले दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको र १८ बर्षमुनिका तीन जना एउटै बाइकमा चढेको देखिएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मंगलबार राती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १०:३२