सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

बहुविवाहले पुर्‍यायो महिना दिनकी सुत्केरीलाई बच्चासहित प्रहरी हिरासतमा

अर्घाखाँची । सुत्केरी अवस्था आराम गर्ने र स्याहार सुसार पाउने बेला हो । सुत्केरीले आफ्नो र बच्चाको निकै ख्याल गर्नुपर्ने बेला हो । तर, गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् ।

उनीसँगै श्रीमान् ३३ वर्षीय मनिराम घिमिरेलाई प्रहरीले चार दिनअघि बहुविवाह मुद्दामा बुटवलबाट गिरफ्तार गरेर हिरासतमा राखेको हो । मनिरामकी जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि उनीहरूलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको थियो ।

यतिखेर नवजात शिशुसहित बाबुआमा गुल्मी प्रहरीको हिरासतमा छन् । दिउँसोमा रमिता भुसाल सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङ्गणमा बस्छिन् । सुत्केरी भएदेखिको रगत अझै रोकिएको छैन । हिरासतमा खानपान र स्वास्थ्यमा समेत समस्या भएकाले बाहिर बस्ने व्यवस्था मिलाइदिने गरी समन्वय गरिदिन उनले आग्रह गरेकी छिन् ।

हिरासतमा अन्य आरोपी व्यक्तिहरू आउने जाने क्रम भएकाले आमाछोरालाई चिसोसँगै कोरोना संक्रमणको डर उत्तिकै छ । दिउँसोमा बच्चासहित बाहिर बसेकी रमिताको दृश्यले प्रहरीमा पुग्ने जो कसैको मन विचलित हुन्छ । अर्घाखाँचीका प्रमुख एवं प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जेठी श्रीमतीले उजुरी दिएपछि उनीहरूलाई बुटवलबाट गिरफ्तार गरिएको जानकारी दिए ।

उनले चिसो र संक्रमणको डर भएपनि मुद्दाअनुसार हिरासतमै बस्नुपर्ने बताए । कानूनको प्रकृयाबमोजिम आफूहरूले छिटोभन्दा छिटो अदालतमा पेश गर्न खोजिरहेको उनको भनाइ छ । नवजात शिशुसहित सुत्केरी महिला हिरासतमा रहेकाले कानूनी प्रकृयामा बिलम्ब नगर्न र मातृशिशु स्वास्थ्यमा गम्भीर हुन सरोकारवालाहरूले प्रशासनलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ०८:०४