
चार्ल्स एम ब्लो
बराक ओबामाले हालै तेस्रो कार्यकालको चुनाव जितेका छन् । अर्थात्, उनकै नीति र अडानले चुनाव जितेको छ । जो बाइडेन राष्ट्रपति बन्दैछन्, किनभने उनी बराक ओबामासँग निकट छन् । उनी राष्ट्रपति हुँदैछन्, किनभने उनका धेरै नीति तथा अडान ओबामाकै जस्ता छन् र, अमेरिकी जनतालाई ओबामाको पालामा अनुभूति गर्न पाएको सामान्यपन र इमानदारिताको तिर्सना जागेको छ ।
बाइडेन वर्तमान अवस्थालाई पुरानै लयमा फर्काउन निर्वाचित भएका हुन् । जहाजको जीर्णोद्वार गर्न र व्यवस्थालाई जोगाउन निर्वाचित भएका हुन् । उनी परिवर्तनकारी शक्ति होइनन् बरु भएको परिवर्तनलाई उल्ट्याउने शक्ति हुन् । अमेरिकालाई फेरि निदाउन सक्ने बनाउन उनी निर्वाचित भएका हुन् । उनको उदेश्य हलचल मच्चाउनु होइन, शान्ति कायम गर्नु हो ।
बाइडेनको जितलाई सम्भव तुल्याउन वामपन्थीहरुको ठूलो हात छ । ओबामालाई जिताउन पनि उनीहरुको महत्वपूर्ण भूमिका थियो । तर, गत महिना एक अन्तर्वार्तामा बाइडेनले भनेका थिए, ‘म समाजवादीहरुविरुद्ध चुनाव लडेको मान्छे हुँ । म मध्यपन्थी हुँ ।’ ओबामा निर्वाचित भएपछि प्रगतिशीलहरु मौन बसे । तर, यसपटक उनीहरु चुप बस्ने छैनन् । दक्षिणपन्थीहरुले हरेक मोर्चामा ओबामाको विरोध गरे ।
त्यसैले ओबामालाई थप क्षति पुग्ने डरका कारण उनलाई प्रगतिशील दिशामा डोर्याउन चाहनेहरुले आलोचना कम गरे । त्यसलाई अहिले धेरैले गल्ती मान्छन् । र, उनीहरुले सो गल्ती दोहोर्याउने छैनन् । वास्तवमा डेमोक्रेटिक पार्टी भनेको तीन फरकफरक पार्टीको योग हो । सबैभन्दा प्रगतिशील बायाँतर्फ छन्, उदारवादीहरु बीचमा र बहुसंख्यक अश्वेत नरमपन्थीहरु दायाँतर्फ । प्रगतिशीलहरु सबैभन्दा ठूलो स्वर गर्छन् । उनीहरुको वास्तविक प्रतिनिधित्व गर्ने व्यक्ति अझैसम्म ह्वाइट हाउस पुगेको छैन । बाइडेन र अरु डेमोक्रेटहरुलाई तिनको उर्जा आवश्यक पर्ने हुनाले उनीहरु कहिलेकाहीँ प्रगतिशील मार्गमा हिँड्ने गर्छन् ।

प्रगतिशीलहरुको बोलीचाली र नीतिले पार्टीलाई क्षति गरेको आरोप कतिपय मध्यपन्थी डेमोक्रेटहरु लगाउँछन् । यसपटक पनि गतसाता प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले गरेको भिडियो कन्फ्रेन्समा मध्यपन्थीहरुले तल्लो सदनमा केही सिट गुमाउनुको कारण वामपन्थीहरु भएको दाबी गरेका थिए । गत महिना सिनेटर बर्नी स्यान्डर्सले ‘द स्क्वाड’ का सदस्यहरु अलेक्जेन्ड्रिया ओकाजियो कोर्टेज, इलहान ओमर, एयाना प्रेस्ली र रसिदा तलिबसँग भनेका थिए, प्रगतिशीलहरुको पहिलो काम डोनाल्ड ट्रम्पलाई हराउनु हो ।
त्यसपछि उनीहरुको दोस्रो काम बाइडेनलाई फ्र्यांकलिन डिलानो रुजबेल्टयताको सबैभन्दा प्रगतिशील राष्ट्रपति बन्न दबाब दिनु हो । ओकाजियो कोर्टेजले डेमोक्रेटिक पार्टीमा हंगामा खडा गर्ने कामलाई सामान्य बनाएकोमा स्यान्डर्सलाई धन्यवाद दिइन् । ‘हालसम्म त्यसलाई ठिक ठानिँदैनथ्यो । धेरै लामो समयसम्म यसलाई गर्नै नहुने काम मानिन्थ्यो । राम्रो नजरले हेरिँदैनथ्यो । यही चलनका कारण धेरैले बहिष्कृत हुनुप¥यो,’ उनले भनिन् ।
यी प्रगतिशीलहरु कतै भाग्ने छैनन्, चुप लाग्ने छैनन् । मात्र शिष्टाचारका लागि तिनले आफ्नो सिद्धान्त बलिदान गर्ने छैनन् । त्यसो गर्नु पनि हुँदैन । चार वर्षसम्म रिपब्लिकनहरुले हुलदंगा मच्चाए, हाम्रो लोकतन्त्रमाथि खतरा निम्त्याए । लामो समय सत्तामा रहिरहन अदालतको प्रयोग गर्ने प्रयास गरे । तर, अब त्यो अवधिको अन्त्य हुँदैछ । यतिबेला डेमोक्रेटहरु हाँसीखुसी एकता र स्थायित्वको कुरा गर्दै बैठक गर्दैछन् । तर, रिपब्लिकनहरुलाई थाहा छ, हामी युद्धमा छौँ । त्यसैले डेमोक्रेटहरुले रणनीतिक रुपले सोच्न जरुरी छ ।
उनीहरु जनसांख्यिक परिवर्तनमा बढी झुकाव राख्छन् । यसले समस्या खडा गर्न सक्छ । अहिले पनि अश्वेतमध्ये दुई तिहाइले डेमोक्रेटिक पार्टीलाई मत दिन्छन् । तर, सन् १९६० यता यो वर्ष ट्रम्पले अश्वेतहरुको मतको सबैभन्दा ठूलो हिस्सा पाए । जब अश्वेतहरु बाइडेन समाजवादी भएको आरोपका कारण त्रसित वा आफ्नो एजेन्डालाई पर्याप्त ठाउँ नदिएको ठानेर निराश थिए, तब उनीहरु गलत सूचनाको सिकार बने । अथवा कसैगरी तिनले रिपब्लिकन पार्टीलाई आकर्षक ठानेका हुनसक्छन् । आखिर राजनीतिमा केही पनि स्थिर हुँदैन ।
ट्रम्प इतिहासमै रिपब्लिकन पार्टीको तर्फबाट सबैभन्दा बढी मत हात पार्ने उम्मेदवार बने । कट्टरपन्थीहरुमाझ उनी बलियो शक्ति रहनेछन् । अझै पनि रिपब्लिकन पार्टी ट्रम्पकै हो । ट्रम्पले फक्स न्युजलाई चुनौती दिनेगरी टेलिभिजन नेटवर्क खोल्नसक्ने अनुमान गरिएको छ । ट्रम्प टीभी मन पराउँछन् । त्यसमाथि उनले नयाँ टीभी खोले भने बाइडेन प्रशासनमाथि चार वर्षसम्म आक्रमण गर्ने अखडा पाउने छन् । त्यस्तै रिपब्लिकन सांसदहरुलाई पनि प्रभावित तुल्याउन सक्ने छन् । वास्तवमा उनी सन् २०२४ को चुनावमा फेरि उठ्न पनि सक्छन् । रिपब्लिकनहरु निर्ममतापूर्वक अगाडि बढिरहेका छन् भने डेमोक्रेटहरु सरलताका साथ । (द न्युयोर्क टाइम्सबाट)
सत्यपाटी ।