सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा सजगता

तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध

फाइल तस्वीर

बाँके । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसीभैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए ।

महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुखसँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएका हुन् । ‘मुलुकभरका कुनै पनि प्रहरी कार्यालयमा यस वर्ष तिहारमा विशेष कार्यक्रम तथा देउसीभैलो नखेल्न नखेलाउन निर्देशन भएको छ,’ प्रवक्ता कडायतले भने, ‘कोरोना महामारी बढ्न सक्ने भएकाले देउसीभैलो लगायतका कार्यक्रम निषेध गरिएको हो ।’

त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको जानकारी उनले दिए । काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ ।

यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छ । तिहारमा कुनै पनि भीडभाड तथा कोरोना सङ्क्रमण फैलाउने किसिमका गतिविधि नगर्न सर्वसाधारणमा आग्रह गरिएको छ । प्रहरी प्रधान कार्यालयकै निर्देशनबमोजिम बाँकेमा पनि प्रहरीले कडा रणनीति अख्तियार गरेको छ ।

नेपालीहरुको दोस्रो ठूलो पर्व नजिकिँदै गर्दा विकृतिपूर्ण गतिविधिमा प्रहरी कठोर हुने बताउँदै बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले चाडवाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गरिएको जानकारी दिए । ‘तिहारमा देउसीभैलो खेल्न र पटाका पड्काउन पूर्णरुपमा प्रतिबन्ध गरिएको छ,’ उनले भने ।

यद्यपी यस बर्ष कोरोना महामारीका कारण स्थानीय प्रशासनले देउसीभैलो नखेल्न आग्रह गरिसकेको छ । तिहारका उद्देश्यले हुने कुनै पनि अपराधिक गतिविधिमा रोक लगाउने उल्लेख गर्दै एसपी रानाले भने, ‘पटाकारहित तिहार बनाउनुपर्छ, नागरिकहरुले पनि साथ दिनुपर्छ । हामी सबै जुटौँ, प्रहरीले मात्रै सबै सुरक्षा गर्न सक्तैन ।’

उनले तिहारका बेला नेपालगन्जमा हुने पटाका आतंक पूर्णरुपमा निषेध गर्न प्रहरी कडारुपमा प्रस्तुत हुने पनि बताए । ‘हामीले सीमाबाटै पटाका भित्रिन नदिन कठाई गरेका छौं । तिहारका बेला यहाँ पटाका पड्काउने बच्चा र उसका अभिभावकलाई समेत निगरानीमा राख्न थालिसकेका छौं, हामी कडा एक्सनमै जान्छौं,’ उनले भने ।

तिहारलाई पटाकारहित बनाउनु प्रहरीको पहिलो प्राथमिकता रहेको बताउँदै एसपी रानाले तिहारका बेला खेलिने जुवातास, लङ्गुरबुर्जा लगायतका अवान्छित गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीले सुक्ष्म निगरानी थालेको पनि जानकारी दिए ।

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारलाई अपराधरहित बनाउन घर वरपर कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दै एसपी रानालाई तिहारलाई ध्यानमा राखेर पटाका र जुवातास तथा अन्य विकृति रोक्ने योजना बनाइएको र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको उल्लेख गरे ।

एसपी रानाले देउसीभैलो नखेल्न माइकिङ्ग गर्ने र अटेरी गर्ने समुहलाई कारबाहीको दायरामा ल्याउने समेत जानकारी दिए । उनले भने, ‘तिहारलाई कुनै पनि हालतमा पटाका र अवान्छित गतिविधिरहित बनाउछौं ।’ तिहारमा हुनसक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्न विशेष सुरक्षा टोलीसमेत परिचालन गरिएको छ ।

एसपी रानाले तिहारलाई लक्षित गरेर मोटरसाइकल गस्ती, सादा पोशाक, मोवाइल गस्ती पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी गरिरहेको पनि बताए । बाँकेमा तिहार लक्षित ६५० बढी प्रहरी परिचालित गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १५:१५