बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले गरीब परिवारलाई लक्षित गरेर कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिड अस्पताल सञ्चालनपछि आर्थिक अवस्था कमजोर रहेका बिरामीहरुले पूर्णरुपमा निशुल्क उपचार पाउने छन् ।
संघीय सरकारको ‘एक स्थानीय तह, एक कोभिड अस्थायी अस्पताल’ निर्माण गर्नुपर्ने नीति अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए । अस्पताल सञ्चालनका लागि संघीय सरकारले १० लाख रुपैयाँसमेत पठाइसकेको पनि उनले जानकारी दिए ।
बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रको छात्रावासमा सञ्चालनमा ल्याएको अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना सहयोगी गरी चार जनाले कोरोना संक्रमणका विरामीहरुलाई सेवा दिने भएकाले अस्पताल सञ्चालनका कारण गरिब तथा विपन्न परिवारका लागि सहयोग अध्यक्ष रुचालले विश्वास व्यक्त गरे ।

अस्पतालमा अक्सिजनसहितका पाँच शैय्या र अन्य १५ शैय्या २० शैय्याको कोभिड अस्पताल आइतबारबाट सञ्चालनमा आइसकेको छ । रुचालले भने, ‘कोभिड महामारीका बेला उपचार गरिब र विपन्न वर्गका नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित नहुन भनेर अस्पताल सञ्चालनमा ल्याएका छौं । यसबाट न्यून आय भएका नागरिकलाई राहत हुनेछ ।’
बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले प्रारम्भीक चरणमा गाउँपालिकाले आफ्नो क्षमता अनुसारको कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताइन् । उनले अस्पताल सञ्चालन हुनुले गरिबीको रेखामूनी रहेका नागरिकका लागि बरदान भएको बताउँदै अस्थायीरुपमा सञ्चालनमा आएको अस्पताल आगामी दिनमा स्थायीरुपमै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले लक्षण देखिएका पोजेटिभ विरामीहरुको उपचारका लागि कोभिड १९ अस्पताल तयारी अवस्थामा रहेको जानकारी दिँदै आगामी दिनमा वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुको सिफारिसमा पिसिआर परिक्षणको व्यवस्था गरिने पनि बताए ।
सत्यपाटी ।