सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर संक्रमितको संख्या पाँच करोड भन्दा धेरै

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच करोड भन्दा बढि पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा पाँच करोड तीन लाख १६ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको हो ।

युरोप तथा अमेरिकामा संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि कुल संक्रमितको संख्याले नयाँ आँकडा पार गरेको हो ।

विश्वभर कोभिड–१९ बाट १२ लाख ५५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या थाहा पाए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् ।

कुल संक्रमित मध्ये महामारीको दोस्रो लहरमा संक्रमित हुने एक चौथाई रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

युरोपमा एक करोड २५ लाख भन्दा बढि संक्रमित भएका छन् र तीन लाख पाँच हजार भन्दा धेरैको ज्यान गएको छ ।

महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६१ हजार भन्दा धेरै पुगेको छ ।

पछिल्ला दिनमा लगातार संक्रमितको संख्या दैनिक एक लाख भन्दा बढि थपिने गरेका छन् । त्यहाँ कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ३७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएको जो बाइडेनले संक्रमण नियन्त्रणका लागि आक्रमक रुपमा काम गर्ने बताएका छन् । त्यसका लागि उनले विशेष कमिटि बनाएर काम गर्ने योजना बनाएको छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०९:४६