सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज म्याराथनको विजेता ओलम्पिकमा सहभागी हुन पाउने

काठमाडौं । नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पाउने भएको छ ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ ।

क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानको रुपमा स्थापित म्याराथन आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

सरकार र तत्कालीन माओवादी बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै म्याराथन विजेताले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।

कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिन लागिएको हो ।नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि ५ वटा संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको म्याराथनलाई केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

गत वर्ष ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिँदै आएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०८:१३