सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल निर्माण गर्न आठ रोपनी जग्गादान

बझाङ । बुङगल नगरपालिका–४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले आठ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नती भई १५ शैयाको अस्पताल हुने भए पछि आवश्यक भौतिक संरचना निमार्णका लागि जग्गा आवश्यक परेको थियो ।

अस्पताल निमार्णका लागि वडा नं ४ तम्तोलिका स्थानियले जग्गादान गरेका छन । खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयामा अस्पताल हुने भए पछि बुङगलवासी हर्षित भएका छन् । स्वास्थ्यचौकीको स्तरोन्नति भई १५ सैयाको अस्पताल निमार्णका लागी स्थानिय ११ जना जग्गाधनिहरुले निशुल्क जग्गादान गरेका छन् ।

अस्पताल निमार्णका लागी वडा नं ४ तम्तोलिका ललितप्रसाद जोशी, बसन्तराज जोशी, धनि पन्त, नन्दप्रसाद जोशी, अम्वादत्त जोशी, किस्ने पन्त, महामति जोशी, धनराज जोशी, धनिराम जोशी, शुशीला नाथ, र रघुनाथ जोशीले निशुल्क आठ रोपनी जग्गादान गरेका हुन् । खिरातडी स्वास्थ्य चौकीका ईन्चार्ज नरेस कुँवरले स्थानीयले दिएको जग्गा खिरातडी स्वास्थ्य चौकीको नाममा पास भै सकेको बताए ।

उनले भने स्वास्थ्य चौकीको स्तरोन्तनि भई १५ शैयाको अस्पताल हुने भए पछि हामीले असोज २९ गते एक सार्वजनिक सूचना जारी गर्दै निशुल्क जग्गादान दिन ईच्छुक जग्गाधनीबाट निवेदन दिन अनुरोध गरेका थियौँ । वडा नं ४ का वडाध्यक्ष अम्मरराज जोशीको विशेष पहलमा स्थानीयहरुले निशुल्क जग्गादान दिने निर्णय गरेर स्वास्थ्य चौकीका मञ्जुरीनामा कागजसहित आएपछि शुक्रबार आठ रोपनी जग्गा स्वास्थ्य चौकीका नाममा पास गरिसकिएको छ ।

स्वास्थ्य चौकीका नाममा करिब चार रोपनी जग्गा छँदैछ । पहिले स्वास्थ्य चौकीको नाममा भएको र अहिले निशुल्क दिएको जग्गा मिलाएर अस्पताल निमार्णका लागि प्रशस्त हुन्छ । अब चाँडै नै अस्पताल निमार्णको काम हुने उनको भनाई छ । स्वास्थ्य चौकी स्तरोन्नति हुने भएपछि बुङ्गल नगरपालिकाको बैठकमा स्वास्थ्य चौकीलाई आवश्यक पर्ने जग्गा सकैले दिन नमान्ने भन्दै विजगडाबाट स्वास्थ्य चौकी अन्यत्रै लैजानुपर्ने कुरा उठ्न थालेको थियो ।

वडाध्यक्ष जोशीले स्थानीयसँग परामर्श तथा समन्वय गरेर स्थानीयले जग्गादान गरेपछि अस्पताल सार्ने प्रयास असफल भएको छ । वडाध्यक्ष जोशीले भने, ‘कार्यपालिकाको बैठकमा यस विषयमा सामान्य कुरो उठेको थियो । जग्गा नपाएपछि अन्यत्रै लैजानुपर्छ भनेपछि मैले स्थानीयहरुसँग अनुरोध गरे । उहाँहरुले मेरो कुरालाई मान्नुभयो । बुङगल नगरपालिकाको हकमा सबैलाई पाएक पर्ने भनेकै विजगडा हो । अस्पताल निर्माणमा अनेकथरी व्यवधान आए पनि हामीले सहजै पास गरेका छौं ।’ बुङ्गल क्षेत्रको विकासका लागि अझै पनि सदैव लागिरहने जोशीको भनाई छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार १४:१९