सूचनाको शक्ति - The Power Of Information

        

एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षण

कञ्चनपुरमा नेपालीले लखेटे भारतीय सुरक्षाकर्मी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका छन् । आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि आएका एसएसबीलाई स्थानीयले लखेटेका हुन् ।

बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको एसएसबीले निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटेको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले बताए । उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए ।

उनले भारतीय पक्षले गल्ती गरेकोमा माफी समेत मागिसकेको बताए । ‘त्यो नियमित गस्ती हो । पहिले नै भएका सीमा स्तम्भहरुको हेरफेर भएको छ/छैन भनी निरीक्षण गरेका हुन्,’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘निरीक्षण हामीले पनि गर्ने गरेका छौँ । तर समन्वय गरेर गर्नु पर्दथ्यो । त्यताबाट त्रुटि भएको छ । उहाँहरुले माफी माग्नु भएको छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार १३:३९