सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

बजारमा म्याद नाघेका ग्याँस सिलिण्डर, उपभोक्ताको भान्छामै जोखिम !

बाँके । बाँकेको नेपालगन्जमा म्याद नाघेका ग्याँस सिलिण्डर छ्यापछ्याप्ती भेटिने गरेका छन् । ग्याँस विक्रेताले पूराना ग्याँस सिलिण्डरमा रंगरोगन गरी नयाँ देखाउँदै ग्याँस भरेर विक्री गर्दै आएका छन् । यसले ग्याँस उपभोक्ता आमनागरिक उच्च जोखिममा देखिएका छन् ।

तर, यस्ता कामको नियमन गर्ने निकाय स्थानीय प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्च लगायतका निकायहरू मौन देखिएका छन् । उपभोक्ताको ज्यानै जोखिममा हुँदासमेत उनीहरूले बजार अनुगमनसमेत गर्न चासो देखाएका छैनन् । बजार अनुगमनका लागि गठन भएका उपभोक्ता हकहित संरक्षण मञ्चसमेत मौन छ ।

कामै नगरी ठूलो उपलब्धीको अपेक्षा गर्ने उपभोक्ता हकहित संरक्षण मञ्च निस्क्रिय जस्तै भएकाले बजार अनुगमन हुन नसकेको उपभोक्ताहरूको गुनासो छ । बजार अनुगमन नहुँदा उपभोक्ता जोखिममा परेको नेपालगन्ज–४ का स्थानीय लालबहादुर थापाको भनाई छ । एउटा सिलिण्डर उत्पादन भएको १० वर्षसम्म मात्र प्रयोग गर्न पाउने कानूनी ब्यवस्था रहेको छ ।

तर, बाँकेका ग्याँस उद्योगीले १० बर्षभन्दा पूराना सिलिण्डरमा ग्याँस विक्री गर्दै आएका छन् । यहाँका तीन वटा ग्याँस उद्योगले ६९५ थोक विक्रेतामार्फत खाना पकाउने ग्याँस बिक्री गर्दै आएका छन् । नियमनकारी निकायले ग्याँस सिलिण्डरको वास्तविक अवस्था बुझ्न नसक्दा ग्याँस उद्योगले मनोमानी तरिकाले ग्याँस सिलिण्डर बजारमा पठाउने गरेका छन् ।

ग्याँस सिलिण्डरमा तौल, उत्पादन मिति र म्याद जाने मिति स्पष्टसँग देखिने गरि लेख्नुपर्ने नियम भए पनि यहाँका अधिकांश ग्याँस सिलिण्डरमा कुनै चिन्ह नदेखिएको उपभोक्ताको भनाई छ । नियमनकारी निकायले अनुगमन नगरेकाले बाँकेमा रहेका तीनवटै ग्याँस उद्योगले आफूखुशी सिलिण्डर खराव भएको प्रमाणित गर्दै आएका छन् ।

सोहीअनुसार नियमनकारी निकायलाई सिलिण्डरको अवस्थाका बारेमा जानकारी गराउँदै आएका छन् । प्रशासन र नियमनकारी निकायसँग कति परिमाणमा खराव सिलिण्डर छन् भन्ने यकीन तथ्यांक छैन । उद्योगीका अनुसार बाँकेमा भेरी ग्याँस उद्योगका झण्डै ३००, मनकामना ग्यासका झण्डै ४५० र राप्ती ग्याँसका झण्डै १५० वटा सिलिण्डर खराव (ड्यामेज) छन् ।

एउटा ग्याँस सिलिण्डरको आयू १० वर्ष हो, उत्पादन भएको १० बर्ष वितेका सिलिण्डर स्वतः खराव मानिन्छन् । तर यहाँ झण्डै २५ वर्षदेखि प्रयोग गर्दै आएका छन् । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष प्रभात सिंह ठाकुरीका अनुसार उद्योगीले पूराना सिलिण्डरमा ग्याँस भरेर बजारमा पठाउँदा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको छ ।

१० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र पाँच वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेकोसमेत पाइने गरेको छ । हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः पाँच वर्षसम्म प्रयोग गर्न पाइने मापदण्ड रहेको छ ।

सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वेल्डिङ गरेर प्रयोग गर्न पाइँदैन । तर, पूराना र खिया लागेका सिलिण्डरमा पुनः रंग (पेन्ट) गरेर बजारमा पठाउने गरेको स्वयं उद्योगीहरु बताउँछन् । १० वर्ष नपुगेका सिलिण्डरमा खिया लागेमा पुनः पेन्ट गरेर बजारमा पठाउने गरिएको भेरी ग्याँस उद्योगका मेनेजर आदेश यादवले बताए ।

भेरी ग्याँस उद्योगको क्षमता ५५० मेट्रिकटन छ । २२० अधिकृत बिक्रेता रहेको मनकामना ग्याँस उद्योगमा तीन लाख ३५ हजार ग्याँस सिलिण्डर बजारमा छन् । राप्ती ग्याँस उद्योगका १३४ अधिकृत बिक्रेता छन् भने एक लाख ८४ हजार ग्याँस सिलिण्डर बजारमा छन् । यसको क्षमता १०० मेट्रिकटन रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार १०:१२