सूचनाको शक्ति - The Power Of Information

        

भोलीदेखि तिला गाउँपालिकाका विद्यालय खुल्ला

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आइतबारदेखि विद्यालय खुल्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय भोली आइतबारदेखि खुल्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताएकी छन् ।

गाउँपालिकाको कात्र्तिक १९ गते बसेको शिक्षा समितिको निर्णयले भोली आइतबारदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताएका छन् ।

शिक्षा समितिको निर्णयका आधारमा विद्यालय खुलाउन सबै विद्यालयमा परिपत्रसमेत भइसकेको छ । उनले भने, ‘कार्तिक २३ गते आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने, पठनपाठन सञ्चालन गर्दा आधारभूत तहले नियमित रुपमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’

माध्यमिक तहले विद्यार्थीको संख्याको आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरि पठनपाठन सञ्चालन हुने सामाजिक विकास अधिकृत बस्नेतले बताए । स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड अपनाई कक्षा सञ्चालन गर्ने, माक्स सेनिटाईजर र साबुन पानीले हातधुने व्यवस्थाप विद्यालयमा मिलाइनेछ ।

कक्षा सञ्चालन गर्दा विद्यालय ब्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्ने समेत निर्णय भएको शिक्षा समितिले जनाएको छ । जिल्लामा शैक्षिक सत्र अन्त्य हुने बेला पठनपाठन शुरु भएकोले विद्यार्थीमा अन्यौलमा छाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १३:०६