सूचनाको शक्ति - The Power Of Information

        

खाल्डोको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा दुई वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ खुपलालटोलस्थित महेन्द्र बिष्टको घर अगाडि फोहर पानी जम्मा गर्ने खल्डोमा डुबेर बालकको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

खुपलालटोलका बिक्रम महत्तोका २ वर्षीय छोरा रामप्रबेश महत्तोको खाल्डोमा रहेको पानीमा डुबेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

त्यस्तै शुक्रबार राति करिब पौने दुई बजे ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथानमा छोराले सुतिरहेका बुवाको टाउकोमा प्रहार गर्दा बुवा गम्भीर घाइते भएका छन्।

आफ्नै घरमा सुतिरहेका ७५ वर्षीय टेक बहादुर अछामीलाई मादक पदार्थ सेवन गरेर ४० वर्षीय छोरा कुमार अछामीले टाउकोमा हम्बर, गलले प्रहार गर्दा गम्भीर घाइते भएका प्रहरी प्रवक्ता कुँवरले बताए ।

कुटपिट गर्ने छोरा कुमार अछामीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगंजमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ११:५७