सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाका कारण ५९ बर्षिय पुरुष मृत्यु, ३२ घण्टामा पाँच जनाको ज्यान गयो

बाँके । बाँकेमा २४ घन्टामा कोराना संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । बाँकेमा रहेका दुई वटा कोरोना विशेष अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितले बिहीबारदेखि शुक्रबारसम्म २४ घण्टाको अवधीमा ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । भेरी अस्पताल नेपालगन्जमा उपचाररत लमही नगरपालिका–१० का ६४ बर्षिय पुरुषको ज्यान गयो ।

त्यस्तै शुक्रबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत टीकापुर नगरपालिका–१, कैलालीकी ५६ वर्षीया महिलाको मृत्यु भयो । लगत्तै, तुल्सीपुर उपमहानगरपालिका–१०, दाङकी २० वर्षीया सुत्केरी महिलाको पनि कोरोनाका कारण उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमै मृत्यु भयो । उनको दिउँसो ३ बजेर २० मिनेट जाँदा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी गाउँपालिका–८, शमशेरगन्जका ४८ वर्षीय संक्रमित पुरुषको पनि शुक्रवार बेलुकी ५ बजेर २० मिनेट जाँदा मृत्यु भयो । बेलुकी ६ बजेर ४० मिनेट जाँदा तुलसीपुर उपमहानगरपालिका–५, दाङका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार शनिबार विहान ५ बजेर २५ मिनेटमा घोराही उपमहानगरपालिका–१५, दाङका ५९ बर्षिय पुरुषको मृत्यु भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जसमा बाँकेका ३५ र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । पछिल्लो ३२ घण्टायताको मृत्युदरले कोरोनाको अवस्था भयावह हुनसक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०७:५७