सूचनाको शक्ति - The Power Of Information

        

मनोज गजुरेल आइसीयूमा पुगेपछि पूर्वपत्नीको भावुक सन्देश

‘मैले बीसौं तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि, छिट्टै निको हुनेछौ’

काठमाडौं । कोरोना संक्रमणका कारण सिकिस्त बनेका चर्चित हास्य कलाकार मनोज गजुरेलको यतिबेला बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्दै हजारौँ नेपालीले भगवानसँग प्रार्थना गरिरहेका बेला उनकी पूर्वपत्नी मीना ढकालले एक भावुक सन्देश सार्वजनिक गरेकी छिन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उनले पूर्वपति गजुरेलको स्वास्थ्य लाभको कामना गर्दै थुप्रै प्रेमिल शब्दहरु खर्चिएकी छिन् । आफूले बीसौं वर्षसम्म उनको दीर्घायुका लागि ब्रत गरेका कारणले पनि उनी चाँडै निको हुने विश्वास समेत ढकालको छ ।

‘मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होइनौ, मैले बीसौं तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु ।’

उनले लेखेकी छिन्, ‘भलै समयले तिम्रो र मेरो बिचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसीयूमा उपचाररत छौ भन्ने समाचारले मलाई विÞक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ ।’

यस्तो छ उनको पूरा स्टाटस

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु ।

केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसीयूमा उपचारारत छौ भन्ने समाचारले मलाई विÞक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जिवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भए पनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन, म यो रियलाइज गरिरहेछु । मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु ।

मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होइनौ, मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिÞक्षामा छन्…। तिमी र म विच जस्तासुकै ब्यवहारिक बेमेल भए पनि तिम्रो जिवन मेरोलागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

https://www.facebook.com/mikishree/posts/3824998080852949

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०७:१७