बाँके । नेपालगन्जको प्रशिद्ध बागेश्वरी मन्दिरको पूर्वतर्फ जुँगे महादेवको मूर्ति छ । किनकी मूर्ति तलाउमाथि छ । मूर्तिसम्म पुगेर पुजाआज गर्नका लागि भक्तजनहरुले पुलको प्रयोग गर्नुपर्छ । जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पुजा अर्चना गर्न दैनिकजसो भक्तजनहरुको भीड लागिरहन्छ । पुलपारि पुग्ने पुल भने जीर्ण अवस्थामा छ ।
यद्यपी अहिले कोरोनाका कारण मन्दीर नै बन्द हुँदा भीडभाड भने शुन्य प्रायः छ । पुजा अर्चना गर्नका लागि टाढा टाढाबाट बागेश्वरी मन्दिरमा पुग्ने भक्तजनहरु जुँगे महादेवको दर्शन नगरेर फर्किदैनन् । संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रशिद्ध मन्दिर हो ।
यहाँ सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ । बागेश्वरी मन्दिरलाई सरकारले सय गन्तव्यको सूचीमा र बाँके जिल्लाले भ्रमण गन्तव्यमा राखेको छ ।
भ्रमण बर्षमा धार्मिक पर्यटक आकर्षित गर्नका लागि बागेश्वरी मन्दिर सम्भावनाको केन्द्र रहे पनि भौतिक पूर्वाधार निर्माणतर्फ तीन तहका सरकारले बजेट भने छुट्याएका छैनन् । अझ मन्दिर वरपरको क्षेत्रका पुल र बाटो जीर्ण अवस्थामा रहेका छन् । यति ठुलो शक्तिपीठभित्र रहेको जुँगे महादेवको मन्दिरसम्म जाने पुल पनि बर्षौदेखि जीर्ण अवस्थामा छ ।
पुल निर्माणका लागि चर्चा पटकपटक हुन्छ, अनि सेलाउँछ । चले पनि त्यसका लागि ठोस काम भने हुन नसकेको हो । बर्षौदेखि जीर्ण रहेको पुल मर्मतका लागि चासो नदेखाएको भन्दै भक्तजनहरु आलोचना गर्ने गर्छन् । २०७३ असार २२ मा तत्कालीन पुनरावेदन अदालतको एक आदेशमा समेत जुँगे महादेव जाने जीर्ण पुलको पुनःनिर्माण गर्न फैसला गरेको थियो ।
पुल निर्माणका २०७३ सालमा योजना अघि बढाइएको थियो । २०७४ बैशाख १५ गते पुलको डिजाइनका सम्बन्धमा सर्वपक्षीय छलफलसमेत आयोजना गरिएका थिए । सो समयमा एरिना डेभलपमेन्ट कन्सल्ट प्रालिले तयार गरेको डिजाइनबारे छलफल गरिए पनि त्यसपछि काम भने अघि बढ्न सकेन ।
उक्त आर्थिक वर्ष २०७५/०७५ मा जिल्ला समन्वय समितिले रु.२० लाख बजेटसमेत विनियोजन गरेको थियो । तर जुँगे महादेव जाने जीर्ण पुल भने हालसम्म पुनःनिर्माण हुन सकिरहेको छैन । जुँगे महादेवको मन्दिरलाई बागेश्वरी मन्दिरकै ढाँचामा र पुललाई दुई लेनको बनाउने मोडेल तयार गरिएको थियो ।
पुलको निकास एकैतर्फ राख्ने गरी एक तर्फबाट जाने र अर्को तर्फबाट आउने ब्यवस्थासहितको अत्याधुनिक मोडेलको पुल बनाउने तयारी गरिए पनि सो अनुसार काम भने अघि बढ्न नसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तहको निर्वाचनसँगै संघीयता कार्यान्वयनमा आयो, व्यवस्था फेरियो । त्यसपछि पुल निर्माणमा कसैले चासो दिएनन् ।
हाल नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा बागेश्वरी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष छन् । तर, वर्तमान समितिले पनि पुल निर्माणमा चासो नदिएको स्थानीयको गुनासो छ । ‘पुल नयाँ बनाउनुपर्ने आवश्यकता छ, तर तत्काल योजना छैन,’ व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भने, ‘अहिलेकै पुललाई मर्मत गरेका छौं ।’
जीर्ण पुलका कारण भक्तजनहरुलाई जोखिम रहेको स्थानीयहरुको भनाई छ । नेपालगन्ज–२ का स्थानीय विकास दाहालले भने, ‘पुल जीर्ण भएर निकै जोखिमपूर्ण बनेको छ । साथै मन्दिरको शोभा पनि बिगारेको छ ।’ मन्दिरमा नेपाल मात्रै नभई भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
‘भ्रमण बर्षमा प्रदेशकै गन्तव्यको रुपमा बागेश्वरी मन्दिरलाई लिइएको छ,’ दाहालले भने, ‘तर, न मन्दिर क्षेत्रको बाटो ठिक छ न जुँगे महादेवको मन्दिरसम्म पुग्ने पुल ।’ सामाजिक सञ्जालमा समेत जुँगे महादेवको मन्दिर पुग्ने पुलप्रति वेवास्ता गरिएको भन्दै विभिन्न समयमा आलोचना हुँदै आएको छ ।
मन्दिरमा दैनिकजसो लाग्ने भीडका कारण पनि पुलप्रति स्थानीयको चासो बढेको छ । समितिका सचिव अधिकारीले जुँगे महादेवको मन्दिर जाने पुल निर्माणका लागि तत्काल समितिसँग बजेट नरहेको बताए । उनले भने, ‘पुल निर्माणका लागि धेरै खर्च लाग्छ । तत्काल हामीसँग त्यसका लागि कुनै स्रोत छैन । तर, पुल ढिलो, चाँडो बनाउनै पर्नेछ ।’
उनले बजेट भए पुल निर्माणबारे सोंच्न सकिने बताए । सचिव अधिकारीले स्रोत भए दीर्घकालनसम्म टिक्ने खालको आधुनिक पुल निर्माणको योजना रहेको सुनाए । उपमहानगरपालिकाले मन्दिर जाने बाटो नै ढाक्ने गरी यसअघि राखिएका पसलहरु भने मन्दिरको पश्चिमतर्फ सटर बनाएर व्यवस्थापन गरिसकेको छ ।
सत्यपाटी ।