सूचनाको शक्ति - The Power Of Information

        

विकास

१७ वर्षदेखि बेवारिसे बनेको ग्रामीण विकास प्रशिक्षण केन्द्र ‘पुनर्जिवित’

बाँके । विगत १७ वर्षदेखि सञ्चालन नहुँदा बेवारिसे बनेको ग्रामीण विकास प्रशिक्षण केन्द्रले पुनःजीवन पाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रले लुम्बिनी प्रदेश सरकाले प्रदेशस्तरीय कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने गरी काम अघि बढाएपछि पुनःजीवन पाएको हो ।

सरकारी उदासिनताका कारण उक्त केन्द्र लामो समयदेखि प्रयोगमा आउन नसकेर १७ बर्षदेखि बेवारिसे बनेको तालिम केन्द्र अब भने सञ्चालनको अवस्था आइपुगेको छ । अहिले लुम्बिनी प्रदेश सरकाले प्रदेशस्तरीय कर्मचारी प्रशिक्षणका लागि बजेटसमेत बिनियोजन गरेर काम अघि बढाएको नेपालगन्ज उपमहानगरपालिका–१४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले बताए ।

प्रशिक्षण केन्द्रमा सुविधा सम्पन्न ३५ वटा भवन छन् । सरकारी उदासिनताका कारण केन्द्रका भोीतक संरचना पनि जीर्ण भइसकेको थियो । तर, लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेको भए पनि केही भवन भने पुनःनिर्माण गरी चिटिक्क पारिएको छ । गतवर्ष नै प्रशिक्षण केन्द्रलाई पूर्णरुपमा सञ्चालन गर्ने योजना बने पनि भनेजस्तो भएन ।

तत्कालिन मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिनका लागि सरकारले स्थापना गरेको उक्त केन्द्र तत्कालिन सशस्त्र द्वन्द्वका कारण बन्द भएको थियो । लुम्बिनी प्रदेश सरकारले उक्त प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न खोजेको छ ।

यसका लागि प्रदेश सरकारले केन्द्रका भौतिक संरचना जिर्णेद्वार गर्न गत वर्ष नै ५५ लाख उपलब्ध गराएको थियो । उक्त रकमले सभाहल, कक्षा कोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जिर्णेद्वार गर्ने काम भइरहेके थियो । सहसचिवको दरबन्दी रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र अहिले कार्यालय सहयोगीको जिम्मामा आएको छ ।

२०६१ सालदेखि प्रशिक्षण केन्द्र सुनसान रहेको भए पनि अब भने चहलपहल बढेको छ । नेपालगन्ज–१४ का वडाध्यक्ष मिश्राले प्रशिक्षण केन्द्र सञ्चालन हुँदा भवानियापुर क्षेत्रकै रौनकता आउने बताए । भौतिक पूर्वाधारले सम्पन्न यो केन्द्रमा एक सभागृह, तीन कोठे दुईवटा कक्षा भवन, तीनवटा अनुसन्धान भवन, १२ कोठे प्रशासनिक भवन, एउटा कृषि कार्यशाला भवन, चार कोठे एउटा कृषि कक्षा भवन लगायतका भौतिक पूर्वाधारहरु रहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १५:५४