सूचनाको शक्ति - The Power Of Information

        

छोरी हराएको निवेदन लिएर जाँदा महिला प्रहरीको जवाफ : ‘पोइ चाहिएर गई होली !’

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ घिउडल्ला बाबुटोलकी पूजा भर एक महिनादेखि बेपत्ता छिन् । तर, छोरीको खोजी गरिदिन आग्रह गर्दा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूमाथि उल्टै दुर्व्यवहार गरेको पीडित आमा शिला भरले बताएकी छिन् ।

छोरी हराएको निवेदन लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूलाई दुर्व्यवहार गर्दै अपमानजनक शब्द प्रयोग गरेर उल्टै गाली गरेको उनी बताउँछिन् । ‘तेरा छोरीजस्ता त कति हराउँछन् हराउँछन्, तेरी छोरीलाई पोइ चाहिएर गई होला, किन खोज्नुपर्यो,’ भनेर महिला प्रहरीले थर्काएको उनले बताइन् ।

‘छोरी हराएर म पीडामा छु, न्याय खोज्न जाँदा मलाई नै थकाईयो, अब म प्रहरीबाट के आश गरूँ ?’ आँसु धारा बगाउँदै शीलाले दुखेसो पोखिन् । छोरी हराएको एक महिनाभन्दा बढी भैसकेको र प्रहरीमा निवेदन दिएको लामो समयसम्म कुनै जानकारी प्राप्त नहुनुले प्रहरीले पनि खासै चासो नदिएको शिलाको भनाई छ ।

उनले भनिन्, ‘म प्रहरी कार्यालयमा ६÷७ पटक पुगिसकेँ, ४ दिन, ५ दिन, एक हप्तामा पत्ता लाग्छ भनेर फर्काउने गर्छन् ।’ छोरी हराएपछि शिला भर अहिले रोएरै दिन कटाउ बाध्य छिन् । गत असोज ११ गते घरबाट विद्यालयमा पढ्न गएकी छोरी पूजा भर घर नफर्किएपछि त्यसयता उनका आँखा ओभाएका छैनन् ।

उनीमात्र होइन, वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका उनका श्रीमान रामलखन भर पनि छोरी हराएको खबर पाएसँगै छटपटीमै दिन बिताउन बाध्य छन् । एकातिर कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनका कारण काम रोकिएर खाली बस्नुपरेको पीडा, अर्कातर्फ हुर्किएकी छोरी हराउँदाको पीडा खपिनसक्नु भएको उनी बताउँछन् ।

शिला भने कतिखेर छोरी आउलिन् र आमा भनेर बोलाउलिन् भन्दै छोरीकै प्रतिक्षामा बसिरहेकी छन् । सुनवल–१३ बडेमा कक्षा १० मा पढ्दै गरेकी उमेरले भर्खर १६ वर्ष टेकेकी छोरी हराएपछि छोरीको खोजीका लागि उनले अनेक प्रयास गरिरहेकी छन् । असोज ११ गते विद्यालय गएकी पूजा अबेरसम्म घर नफर्किएपछि आमा शिला उनलाई खोज्दै स्कुलसम्म पुगिन् ।

तर त्यसदिन छोरी स्कुलमै नगएको जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भइन् । उनी अत्तालिँदै घर फर्किइन् । छोरी खोज्न शिला बडेरातर्फ लागेपछि उनका देवर आफ्नो ससुराली रामग्राम ४ जितपुरतर्फ लागे । उनी ससुरालीमा पुग्दा आफ्नो सालो नगेन्द्र भर पनि घरमा नभएको पाए ।

उनी घर फर्किएर भाउजुलाई सालो पनि घरमा नभएको जानकारी गराएपछि शिलाले नगेन्द्रले नै छोरीलाई लिएर गएको आशंका गरिन् । १२ गते जिल्ला प्रहरी कार्यालयमा गएर आफ्नो छोरीलाई नगेन्द्र भरले लिएर गएको र केटा ठीक नभएका कारण छोरीको अवस्था जे पनि हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गर्दै ठाडो उजुरी गरिन् ।

प्रहरीले पनि छिट्टै खोजी गरी छोरीको अवस्थाका बारेमा जानकारी गराउने आस्वासन दिएर पठायो । हराएको एक महिनाभन्दा बढी समय भै सक्दा पनि पूजाको अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै दुखी भएको शिला बताउँछिन् । छोरी घरबाट गएपछि कुनै खबर नपाएको र उनले प्रयोग गर्ने मोबाइल पनि स्वीच अफ रहेकोले कतै छोरीलाई केहि गरिदिए कि भन्ने आफूलाई चिन्ता लागेको उनी बताउँछिन् ।

नगेन्द्रले छोरीलाई बेपत्ता बनाएको उनले आरोप लगाएकी छिन् । नगेन्द्रको परिवारले भने केटी लिएर गएको भन्ने जानकारी नभएको र अहिले नगेन्द्र कहाँ छन् भन्ने पनि केहि थाहा नभएको बताउने गरेका छन् । नगेन्द्र घरबाट निस्कँदा आफू साथीको घरमा जाने भनेको, तर अहिलेसम्म पनि नफर्किएको नगेन्द्रका दाई वीरेन्द्र भार बताउँछन् ।

१० दिनसम्म पनि घर नफर्किएपछि आफूले पनि भाइको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएको वीरेन्द्रको भनाई छ । पूजालाई भाइले लिएर गएको भए आफूलाई जानकारी हुनासाथ केटी पक्षलाई जानकारी दिने उनले बताएका छन् । दुवै परिवारबाट हराएको निवेदन प्रहरीमा दर्ता भएपनि उनीहरूको अवस्था कस्तो छ र उनीहरू कहाँ छन् भन्नेबारे प्रहरीले सुइँको समेत पाउन सकिरहेको छैन ।

पूजाको उमेर भर्खर १६ बर्ष लागेकोले पनि २० बर्ष नभै गरिएको विवाह कानुनत मान्य नहुने भएकोले पनि उनीहरूको विवाह बालविवाह ठहर हुनेछ । सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगर भए पनि नगरपालिकामै यस्तो घटना घट्दा चुनौति थपिएको छ । ठाडो उजुरी प्राप्त भएसँगै खोजी कार्य अगाडि बढाइएको र अनुसन्धान कार्य समेत चलिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए ।

केटी पक्षको तर्फबाट केटा ठीक नभएको र भारततर्फ आउजाउ गर्ने भएकोले पनि छोरीलाई तलमाथि हुनसक्ने भनेर चिन्ता व्यक्त गरेको तथा प्रहरी कार्यालयको तर्फबाट केटाका परिवारका सदस्यहरूलाई बोलाएर सोधपुछ गर्ने काम भैरहेको लामाले बताएका छन् । कल डिटेल हेर्दा पूजा हराउनुभन्दा केहिदिन अघिदेखि नगेन्द्र र पूजाबीच पटक पटक फोन सम्बाद भएको थाहा लागेको समेत लामाले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १२:५७