सूचनाको शक्ति - The Power Of Information

        

विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार प्रष्ट जीतका लागि ६ मत (इलेक्टोरल कलेज) को प्रतीक्षामा रहनुभएका बाइडेनले बुधबार दिउँसो भन्नुभयो, ‘हाम्रो जीत सुनिश्चित छ र म एक अमेरिकीका रुपमा शासन गर्नेछु ।’

यसअघि पनि उहाँले आफू प्रतिवद्ध डेमोक्र्याटका रुपमा चुनावी मैदानमा होमिएको भए पनि सबै अमेरिकीको साझा राष्ट्रपतिका रुपमा काम गर्ने प्रतिवद्धता जनाइसक्नु भएको थियो ।

जबकी उहाँ प्रतिष्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भने प्रारम्भिक मतगणनामै आफूलाई विजयी घोषणा गर्नुभएको थियो । ट्रम्पले यस्तो घोषणा गरिरहँदा बाइडेनले भने निकै धैर्य देखाउँदै प्रत्येक मतगणना नगरी परिणाम घोषणा गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको थियो ।

नेपाली समयअनुसार बिहीबार विहानको सम्बोधनमा बाइडेनले भन्नुभयो, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

उता ट्रम्पको चुनावी अभियानले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाएको छ र अदालतमा चुनौती दिने घोषणा गरेको छ ।

बाइडेनले मुलुकमा विभाजनको रेखा कोरिएको स्वीकार्दै, विभाजित देशलाई एकीकृत गर्नकै लागि आफू चुनावी प्रतिस्पर्धामा आएको उल्लेख गर्नुभयो ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजकाका अनुसार अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन चाहिने ५३८ मध्ये २७० इलेक्टोरल कलेज मतमा बाइडेनले अहिलेसम्म २६४ मत संकलन गरिसक्नुभएको छ ।

अब मात्र ६ मतको प्रतीक्षा रहेको छ । जुन झिनो अग्रता लिइरहनुभएको नेभादाबाट त्यो मत मिल्नसक्ने अनुमान गरिएको छ । यसो भएका ट्रम्पले मात्र २ मतले परिणाम गुमाउनुपर्ने देखिन्छ ।

संग्रामी मैदान मानिएका र सन् २०१६ मा ट्रम्पको पोल्टामा परेको एरिजोना, विस्कनसिन र मिसिगनमा बाइडेनको जीत सुनिश्चित भएको ट्रम्पनिकट मानिएको फक्स न्यूजले नै जनाएको छ ।

ट्रम्पले अग्रता लिइरहनुभएको पेन्सलभानियामा पनि बाइडेनले मतान्तर साँघुर्‍याउनु भएको छ । २० इलेक्टोरल कलेज रहेको यसअघि डेमोक्र्याटका पक्षमा रहेको उक्त राज्यको परिणाम सन् २०१६ मा भने ट्रम्पका पक्षमा आएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०८:२६