सूचनाको शक्ति - The Power Of Information

        

अपराध

जानकी गाउँपालिकाका वडाध्यक्ष राईका १२ बर्षिय छोरा अपहरणमा

बाँके । बाँकेको जानकी गाउँपालिका–१ साइगाउँका वडाध्यक्ष मो.रजा राईका १२ बर्षिय छोरा मो.साहिल राई अपहरणमा परेका छन् । मंगलबार विहान ५ बजेदेखि सम्पर्कविहीन रहेका उनलाई अन्दाजी २२ बर्षिय अर्का युवक हनुमान कुर्मीले लिएर गएको पारिवारिक स्रोतले जनाएको छ ।

साहिल दुई दिनदेखि सम्पर्कविहीन भएपछि उनी अपहरणमा परेको परिवारिक श्रोतले जनाएको छ । ‘दिनभर खोज्दा पनि साहिल सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेर खोजतलास गरेका छौं । हामीले हिजो (मंगलबार) विहानैदेखि खोजिरहेका छौं । अहिलेसम्म कतै फेला पार्न सकेका छैन,’ पारिवारिक स्रोतले भन्यो, ‘प्रहरीले पनि खोजविनका लागि खासै तदारुकता देखाइरहेको छैन ।’

पचपोखरा भन्ने गाउँमा झण्डै एक महिनाअघि नाली बनाउने क्रममा स्थानीयहरुबीच विवाद मिलाउने क्रममा वडाध्यक्षमाथि हातपातसमेत भएको र सोही रिसिइबीका कारण छोरा साहिललाई अपहरण गरेको हुनसक्ने परिवारको अनुमान छ । डेढ महिनाअघि नाली निर्माणका क्रममा दुई पक्षबीच विवाद बढ्दै गएपछि विवाद मिलाउन गएका वडाध्यक्ष राईमाथि आक्रमण प्रयास भएको थियो ।

वडाध्यक्षमाथि आक्रमण गर्न खोज्दा स्थानीहरुले उनलाई बचाउन खोजेपछि केही युवाहरुले घरका छतमाथि गएर ढ्ंगामुढा प्रहार गरेपछि केही स्थानीयहरुसमेत घाइते भएका थिए । सोही घटनालाई लिएर प्रहरीमा मुद्दासमेत दर्ता भएको थियो । प्रहरीले मुद्दा दर्तापछि आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ नगरेपछि अहिले वडाध्यक्षकै बच्चालाई अपहरण गरेको हुनसक्ने परिवारको आशंका छ ।

यता, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बच्चा सम्पर्कमा नआएको जानकारी पाएलगत्तै अनुसन्धानका सबै प्रक्रियाहरु अवलम्बन गरेर प्रहरी सक्रिय भएर लागेको बताए । उनले भने, ‘हामीले सम्पर्कमा नआएको जानकारी आएलगत्तै सबै विधि अपनाएर बच्चालाई सकुशल उद्दार गर्न प्रहरीका टोलीहरु परिचालन गरिरहेका छौं, हामी कुनै पनि हालतमा बच्चालाई सकुशल उद्दार गरेरै छाड्छौं ।’

प्रहरीले बच्चा सम्पर्कमा नआएपछि अपहरणको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिएको छ । ‘घटनाका विषयमा अहिले सबै कुरा खोल्न मिल्दैन । हामीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं, हामी कुनै पनि हालतमा बच्चाको उद्दार गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउने गरी सबै टोलीहरु परिचालन भएका छन् । हामी सफलतामा पुगेरै छाड्छौं,’ प्रहरी उपरीक्षक रानाले सत्यपाटीसँग भने । प्रहरी उपरीक्षक रानाले सीमा नाकामा निगरानी बढाइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १९:०१