सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सेना प्रमुखको सुरक्षामा २ हजार प्रहरी परिचालन

काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा  गरिएको छ ।

मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं आउन लागेका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण नरवणेको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले  बताए ।

‘लिपुलेक विवाद’मा नरवणेले ‘कसैको ईशारामा नेपालले लिपुलेक मुद्दा उचालेको’ भनेर विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको तीब्र बिरोध भइरहेको छ ।मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरणपछि उनलाई सोल्टी होटल सम्म लैजान तीनवटा रुट तय गरिएको छ ।

विमानस्थलबाट ललितपुर हुँदै, नयाँ बानेश्वर तर्फबाट र महाराजगञ्ज तर्फको बाटोमध्ये जुनसुकै बाटोबाट पनि उनलाई सोल्टी होटल लैजाने नेपाली सेनाका एक अधिकृतले बताए ।

सेनाले उनलाई विमानस्थलबाट स्कर्टिङ गरेर सोल्टी होटल लैजाने छ । सुरक्षाका कारण तीनवटा विकल्प मध्ये कुन रुटबाट होटल लैजाने भन्ने सार्वजनिक गरिएको छैन । तर, सवै रुटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बुधवार नै उनले पशुपती दर्शन गर्दै छन् । पशुपति दर्शनका लागि पनि तिनवटा रुट तय गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ११:४१