सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

तीन प्रदेशका गम्भीर सङ्क्रमित बाँकेका अस्पतालमा, उपचारमा थप चुनौती

बाँके । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजका नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पताल अहिले पश्चिम नेपालका तीन प्रदेशका गम्भीर सङ्क्रमितको उपचार गर्ने प्रमुख अस्पताल बनेका छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका गम्भीर अवस्थामा सङ्क्रमितहरूलाई थप उपचारका लागि नेपालगन्ज नै पठाउने गरिएको ती अस्पतालले जनाएका छन् ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट गम्भीर प्रकारका सङ्क्रमित बिरामी बाँकेमै रेफर भएर आउने गरेकाले नेपालगन्जका अस्पतालहरूलाई उनीहरूको उपचार गर्ने चुनौती थपिएको बताए ।

उनले सरकारले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोभिड–१९ को विशेष दर्जाको अस्पतालको मान्यता दिएपछि तथा भेरी अस्पतालमा ७५ बेडको कोभिड विशेष अस्पताल स्थापना गरिएपछि उपचारमा सहज भएको बताए ।

तीनवटै प्रदेशका गम्भीर अवस्थाका सङ्क्रमितको उपचारलाई ध्यानमा राखेर नै प्लाज्मा थेरापीको सुरुवात गरेर रगत सङ्कलन गर्ने अभियानलाई समेत तीव्रता दिइएको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बताए ।

भेरी विशेष कोरोना अस्पतालका प्रमुख डा.श्यामसुन्दर यादवले विगत लामो समयदेखि पश्चिम नेपालका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पताललाई अहिलेको महामारीमा तीनवटा प्रदेशका गम्भीर सङ्क्रमितको उपचार गर्ने जिम्मेवारी रहेको बताए ।

उनले बाँके लगायत पश्चिम नेपालका तीन प्रदेशका गम्भीर सङ्क्रमितलाई रेफर गर्ने स्थान नै नेपालगन्ज भएकाले अहिले उपचारमा चुनौती थपिएको बताए । उनले सीमित जनशक्ति र स्रोत साधनका बीच यो काम गर्नुपर्दा झनै चुनौती बढेको पनि बताए ।

सोही प्रकारले नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालले सुरुदेखि नै कोरोना सङ्क्रमितको उपचारमा विशेष ध्यान दिएको बताए ।

उनले सङ्क्रमितको उपचार गर्दा गर्दै सयौँ स्वास्थ्यकर्मी पनि सङ्क्रमित समेत बनेको बताए । बाँकेका अस्पतालहरू तीन प्रदेशका उपचार थलो बनेकाले ती अस्पतालको स्तरोन्नति र सेवा सुविधा थप गर्न सरकारले विशेष ध्यान दिनुपर्ने अधिकांश सर्वसाधारणको माग छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १०:२४