सूचनाको शक्ति - The Power Of Information

        

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने ३ जना पक्राउ

बाँके ।  जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ठगी गर्ने तीनै जनालाई प्रहरीले मंगलबार सार्वजनिकसमेत गरेको छ ।

घोराही उपमहानगरपालिका १७ दाङका माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका ४, दैलेखका धनबहादुर रोका, कुमाख गाउँपालिका ५, सल्यानका कृष्ण शाह र शारदा नगरपालिका ९, सल्यानका डिल्लीबहादुर बोहरालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार नेपालगन्ज उपमहानगरपालिका १ बाट उनीहरुलाई ४० लाख रुपैयाँसहित पक्राउ गरिएको हो । आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मंगलबार (हिजो) पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्‍न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रानाले अवैध ठगीधन्दा, रेड पान्डाको छाला तथा अवैध लागुपदार्थ कारोबारमा संलग्‍न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका रुकुम-पश्‍चिम सानीभेरी गाउँपालिका ८ का २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित मंगलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका ५ का गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका ५, दैलेखका दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।

यसैगरी मंगलबार दिउँसो २० पुरिया ब्राउन सुगरसहित पक्राउ परेका भारतको बहराइच रुपैडिहा थाना निवासी १८ वर्षीय जुगिन्दर सोनी, सोही ठाउँ निवासी २९ वर्षीय राकेश सोनी, बाँकेको खजुरा गाउँपालिका १ का १९ वर्षीय विष्णु थापा क्षेत्री र नेपालगन्ज उपमहानगरपालिका २, घरबारीटोलका २५ वर्षीय सागर थापालाई पनि प्रहरीले बरामद गरेको सामग्रीसहित सार्वजनिक गरेको छ । -रासस

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०८:२०