सूचनाको शक्ति - The Power Of Information

        

सेनाध्यक्षको पदवी ग्रहण

भारतीय सेनाध्यक्ष नरावणे आजबाट नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता हुने

दुई देशबीचको सैन्यसम्बन्ध सुदृढ हुने

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आजबाट नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्नु हुने नरावणे शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नुहुनेछ । उहाँलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नुहुनेछ ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय सञ्चार माध्यममा उहाँले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि लिन पाउँदा आफूले सम्मानित मशूस गरिरहेको उहाँको भनाइ छ । यता, काठमाडौंमा भने नरावणेको भ्रमणलाई हेरेर सुरक्षा प्रबन्ध कडा बनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीले सतर्कता अपनाएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी रहेको छ ।

तर नरावणेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली रुष्ट छन् । नेपालको कालापानी क्षेत्रमा भारतले सडक बनाएकामा आलोचना भएका बेला नरावणेले कसैको उक्साहटमा नेपालमा भारतको विरोध भएको टिप्पणी गर्नुभएको थियो । उहाँको इशारा चीनतर्फ थियो ।

तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरावणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नुहुनेछ । उहाँले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नुहुनेछ ।

उहाँले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुनेछ । दुई देशबीच सम्बन्ध तीक्त रहेका बेला यस भमणले दुई देशका अधिकारीबीच संवादको ढोका खोल्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०७:३८