सूचनाको शक्ति - The Power Of Information

        

अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते

काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा एक सभाहल नजिकै भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले विभिन्न ६ स्थानमा जथाभावी गोली प्रहार गर्दा १५ जना भन्दा बढी घाइते भएका छन् । अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले आतंकवादी आक्रमणको निन्दा गर्दै दोषीलाई कारणही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मारिनेमध्ये एक जना बन्दुकधारी रहेको सुरक्षाकर्मीको दावी छ । घाइतेमध्ये केही सुरक्षाकर्मीसमेत रहेको बताइएको छ । आक्रमणलगत्तै सुरक्षाकर्मीले उक्त स्थानमा घेरा हालेको बताइएको छ ।

आक्रमणकारीहरुले स्वचालित हतियार चलाएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले प्रतिवन्धहरुको घोषणा गरेलगत्तै आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणको युरोपेली नेताहरुले निन्दा गरेका छन् । उनीहरुले आतंकवाद नियन्त्रणका लागि साझा कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आक्रमणको निन्दा गर्दै आतंकवाद नियन्त्रणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

फ्रान्सको एक शहरमा पनि गत हप्ता छुरा प्रहार गरी तीन जनाको हत्या भएको थियो ।(एजेन्सी)

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०७:२४