सूचनाको शक्ति - The Power Of Information

        

प्रविधि

नगरपालिका नै सञ्चारविहीन, डाँडामा पुगेर अनलाइन कक्षा लिन्छन् विद्यार्थी

बझाङ । नगरपालिकाकै वडाहरु सञ्चार क्षेत्रबाट टाढा रहेका छन् । बझाङको मुख्य केन्द्र विन्दु तथा सदरमुकाममैै रहेको जयपृथ्वी नगरपालिकाभित्रका वडाहरु सञ्चारविहीन छन् । जयपृथ्वी नगरपालिकाको वडा नं. १ को कैलास लगायतका वडाहरु सञ्चारविहीन छन् । नेपाल टेलिकमले विभिन्न स्थानमा टावर राखेको भए पनि वडा नं १ मा भने अझै सञ्चारविहीन छ ।

नगरपालिकाको मापदण्ड अनुसार सामान्य सेवासुविधाहरु हुनुपर्ने भए पनि जयपृथ्वी नगरपालिकाभित्र अझै पनि विद्युत र सञ्चार पुगेको छैन भने खानेपानीको लागि दुई/तीन घण्टा पैदल हिड्नुपर्ने अवस्था छ । साथै कोरोना महामारस्का कारण विद्यालयहरु नखुल्दा विद्यर्थीलाई अनलाइन कक्षा लिनकै लागि डेढ घण्टा हिँडेर डाडाँमा पुग्नुपर्ने अवस्था रहेको स्थानीयबासी प्रदिप सिंहले बताए ।

अनलाइन कक्षा पढाउने सरकारी नीति यहाँका विद्यार्थीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’जस्तै भएको छ । ‘यहाँको कैलासमा फोन गर्नलाई एक, डेढ घन्टा हिँडेर डाँडामा जानु पर्ने अवस्था छ,’ सिंहले भने । यता जयपृथ्वी नगरपालिका–१ कैलासका वडाध्यक्ष गगनबहादुर सिंहले दुई बर्षअघि जोडिएको इन्टरनेटले केही समय चलेको भए पनि त्यसपछि बन्द अवस्थामै रहेको बताए ।

इन्टरनेटसँग सम्बन्धीत सानो काम गर्न पनि सदरमुकाम चैनपुर नै धानुपर्ने बाध्यता रहेको अध्यक्ष सिंहले बताए । उनले भने, ‘इन्टरनेट नहुँदा समस्या छ, पालिकाका अध्यक्षसँग टेलिकमको टावर राखेर नियमित इन्टरनेट चलाउनका लागि टेलिकमसँग पहल गर्न आग्रह गरिरहेका छौं ।’ वडाध्यक्ष सिंहका अनुसार यो समस्या नगरपालिकाका सबै वडामा रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार १०:५३