सूचनाको शक्ति - The Power Of Information

        

पाटेबाघको आक्रमणबाट ६८ वर्षीय थारुको ज्यान गयो

फाइल तस्वीर

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमबाट एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो । घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो ।

बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

यस्तै इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको छ । नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाँच दिनअघि गएको मंगलबार दिउँसो पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

नेपाल भारत सीमा नजिक डिभिजन वन कार्यालय बर्दिया अन्तरगत पर्ने मधुवन नगरपालिका क्षेत्रमा स्थानीयलाई आक्रमण गर्ने बाघ हुनसक्ने निकुञ्जले अनुमान गरेको छ । दुई हप्ताअघि पाटेबाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो ।

यस्तै एक महिनाअघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परि ज्यान गएको थियो । मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिन वा मार्न स्थानीयले माग गरेपछि बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको टोली बाघ पहिचान र नियन्त्रण गर्न खटिएको छ ।

नियन्त्रका लागि खटिएकै बेला निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासी त्रसित बनेका छन् । एक महिनाभित्र बर्दियामा पाटे बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने साढे एक वर्षको अवधिमा बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन बन क्षेत्रमा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार १०:३६