सूचनाको शक्ति - The Power Of Information

        

इंग्ल्याण्डमा फेरि लकडाउन, चार हप्तासम्म घर बाहिर निस्कन प्रतिबन्ध

काठमाडौं ।  इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः लकडाउन घोषणा गर्नु परेको उनले बताएका छन् ।

यो वर्षको क्रिसमस ‘अति भिन्न’ हुन सक्ने बताउँदै प्रधानमन्त्री जोन्सनले अहिलेदेखि नै प्रयास सुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

पब, रेस्टुरेन्ट, जिम तथा अरु अत्यावश्यक बाहेकका पसलहरु आउँदो बिहीबारदेखि चार हप्ताका लागि बन्द हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् । तर यो पटकको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला हुने छन् ।

महामारीको पहिलो लहरका बेला लागु भएको लकडाउनमा शैक्षिक संस्था पनि बन्द भएका थिए । डिसेम्बर २ पछि अहिले लागु भएका प्रतिबन्धहरु फुकुवा हुने उनले बताएका छन् ।

अहिले नै कडा कदम चालेर क्रिसमसलाई सकेसम्म भरिपूर्ण बनाउने प्रयास गरिएको भए पनि यो वर्षको पर्व विगतको भन्दा निकै फरक हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् ।

लकडाउनका कारण व्यवसायमा पर्ने असरप्रति उनले माफी माग्दै जीवन रक्षाका लागि बाध्य भएर निर्णय लिनु परेको उल्लेख गरेका छन् । ८० प्रतिशत कामदारको पारिश्रमिक सरकारले प्रदान गर्ने सुविधा नोभेम्बरसम्मै जारी रहने उनले बताए ।

गएको अप्रिलमा भन्दा अब कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अधिक हुने देखिएकाले बाध्य भएको जोन्सनले उल्लेख गरे ।संक्रमणदर अति कम रहेको दक्षिण पश्चिम लण्डनका अस्पताल समेत भरिभराउ भएको उनले बताए ।

उनले भने, ‘स्वास्थ्यकर्मीहरु कुन बिरामीको ख्याल गर्ने भन्ने रोज्नु पर्ने अवस्थामा पुगेका छन् । कसलाई अक्सिजन दिने र कसलाई नदिने भन्ने निर्णय गर्नु पर्ने भएको छ । को जीवित रहने र कसलाई मर्न दिने भन्ने नैतिकतामाथिको गम्भीर विपदको अवस्था उनीहरुमा आएको छ ।’

विशेष काम नभइ घर बाहिर ननिस्कन भनिएको छ । तर अत्यावश्यक सामग्री किन्न, स्वास्थ्य सेवा तथा जोखिममा रहेका व्यक्तिहरुको सेवाका लागि भने मानिसहरु जान पाउने छन् । घर भित्रै वा निजी बगैँचामा हुने भेलाहरु पनि प्रतिबन्धित भएका छन् ।

बेलायतमा संक्रमितको संख्या १० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बेलायतमा संक्रमितको कुल संख्या १० लाख १४ हजार ७ सय भन्दा बढी छ । अहिलेसम्म कोभिड–१९ बाट बेलायतमा ४६ हजार ६४५ जनाको ज्यान गएको छ ।

पछिल्लो दिनमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । बेलायतमा शनिबार २१ हजार ९१५ जना संक्रमित थपिए भने ३२६ जनाको ज्यान गयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ०९:३१