बाँके । कोभिड–१९ महामारीका कारण गत सात महिनादेखि बन्द रहेको नेपाल भारत सिमानाको भारततर्फको नाका भारतले एकतर्फीरूपमा खुला गरेको छ । भारतले एकतर्फीरूपमा नाकामा आवागमन खुला गरेपछि नेपालतर्फको नाका व्यवस्थित गर्न समस्या हुँदै आएको नेपाली सुरक्षाकर्मीले जनाएका छन् ।
सिमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई विष्णु गिरीका अनुसार अहिले भारतीय सुरक्षा निकायले नाकामा आवतजावत सहज गरेकाले नेपालतर्फको सिमानामा भीड व्यवस्थित गर्न गाह्रो हुँदै गएको बताए । उनले भारतीय सुरक्षाकर्मीले सबैलाई आवागमन गर्न छुट दिएपछि नेपाली सिमानामा भीड थेग्न समस्या बढ्दै गएको बताए ।
नेपाल सरकारले अझै पनि सिमाना बन्द राखेकाले भारतबाट आउने भारतीय नागरिकलाई आउन कडाइ गरिएकाले नाकामा समस्या चर्किंदै गएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयले नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सिमानामा भारतबाट अनधिकृतरूपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको पनि जनाएको छ ।
भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिकरूपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीड रोक्न जमुनाहमा चुनौती बनेको जमुनाहाका इन्चार्ज गिरीले बताए । यसअघि नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।
अहिले आएर भारतले सबैलाई आवागमन गर्ने छुट दिएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेको संख्या अत्यधिक बढेकाले सिमानामा समस्या उत्पन्न भएको हो । बाँकेको जमुनाहा सीमा नाका हुँदै भारतको लखनउ नानपारा, बहराइच, दिल्ली लगायत सबैजसो ठूला सहरमा नेपाली रोजगारी लगायत अन्य विविध कामले जाने गरेका छन् भने भारतका पनि विभिन्न सहरबाट आएका भारतीय नेपाल पस्ने गरेका छन् । नेपाल सरकारले कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेकोमा मङ्सिर १ गतेबाट नाका खोल्नुपर्ने माग दुवैतर्फका जनताको छ ।
सत्यपाटी ।