सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोराना संक्रमणबाट दुईको मृत्यु, देशभर ३६५ संक्रमित आइसियुमा र भेन्टिलेटरमा

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेका छन् । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उहाँको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने सङ्क्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । अहिलेसम्म बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । यसैगरी प्युठानको माण्डवी गाउँपालिका–३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पारेखरेलले बताए । योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

३६५ कोरोना संक्रमित आइसियुमा र भेन्टिलेटरमा

मुलुकभर लक्षणसहितका कोभिड–१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २९६ जनाको आइसियु र ६९ संक्रमितको भेन्टिलेटरमा उपचारत भइरहेको छ । गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

जसअनुसार १८४ आइसियु, भेन्टिलेटरमा ५२ र होम आइसोलेसनमा १७ हजार ६९२ रहेका छन् । लुम्बिनी प्रदेशमा ३ हजार ४०२ संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसियुमा ४४ र भेन्टीलेटरमा ४ जना छन् । प्रदेश १ को होम आइसोलेसनमा ६ हजार १४०, आइसियुमा ३१ र भेन्टीलेटरमा ९ संक्रमित छन् । गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ३५९, आइसियुमा १५ र भेन्टीलेटरमा ३ जना छन् ।

प्रदेश २ मा १२ संक्रमित आइसियुमा उपचाररत छन् । होम आइसोलेसनमा १ हजार २१ संक्रमित छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या ५४४ पुगेको छ । आइसियुमा ४ जना उपचाररत छन् । त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ८५० र आइसियुमा ५ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १७:०७