रियो द जेनेरियो । ब्राजिलको रियो द जेनेरियो शहरका गल्लीहरु खाली छन् र सडकहरु सुनसान छन् । सामाजिक दूरीका कारण मानिसहरु एक अर्काबाट टाढा छन् । यसको सबैभन्दा ठूलो असर यौनकर्मीहरुमाथि परेको छ । खास गरी ट्रान्सजेन्टर यौनकर्मीहरुमाथि । ट्रान्सजेन्डरको मामिलामा ब्राजिल पहिलेदेखि नै सबैभन्दा खतरनाक देश मानिँदै आएको छ । यहाँ ट्रान्सजेन्डर यौनकर्मीहरुमाथि कोरोनाको दाहोरो मार परिरहेको छ ।
ग्राहक र आम्दानी नभएका कारण यहाँ ट्रान्स यौनकर्मीहरुले कैयौं गम्भीर समस्याहरुको सामना गर्नु परिरहेको छ । उत्तर पूर्वी ब्राजिलकी ४४ वर्षकी एल्बा तबरेज भन्छिन् ‘तपाइँ खाली सडकहरु, बन्द पसलहरु र गिर्दो अर्थव्यवस्था देख्न सक्नुहुन्छ । म अहिले वेश्यावृत्तिको त्यो दौडमा छैन । तर, हो मैले अहिले पनि यो काम गर्छु । यहाँ अब धेरै कम ग्राहक छन् ।’ ब्राजिलमा डर र पक्षपातका कारण कैयौं ट्रान्सजेन्डर देह व्यापार गर्न बाध्य छन् ।
तर, उनीहरुको लागि यो बाटो सजिलो छैन । एल्बा तबरेज भन्छिन् ‘यहाँ त्यो मात्र जीवित रहन सक्छ जो निकै बलियो छ र म निकै कमजोर छु । गरिब र ट्रान्सजेन्डर हुनुले मलाई अझै कमजोर बनाउँछ । यद्यपि यदि म गरिब नभएर ट्रान्स मात्र हुन्थें भने पनि यो भेदभाव जारी रहन्थ्यो ।’ ट्रान्सजेन्डरहरुको लागि काम गर्ने संगठन ट्रान्सजेन्डर युरोपका अनुसार ब्राजिलमा यिनीहरुको लागि कैयौं आन्दोलन भइरहन्छन् ।
तर, यति हुँदाहुँदै पनि यो ट्रान्सजेन्डरहरुको लागि विश्वका सबैभन्दा खतरनाक देशहरुमध्ये एक हो । पूरै विश्वमा ट्रान्सजेन्डरहरुको हत्याको सबैभन्दा बढी दर यहीँ छ । कोभिड १९ को चुनौतीहरुको सामना गरिरहेकी उल्बा भन्छिन् ‘हामीलाई सरकारको तर्फबाट धेरथोर सहयोग प्राप्त भइरहेको छ तर त्यो पर्याप्त छैन । यहाँ अपराध र भ्रष्टाचार अत्यन्तै धेरै छ र यिनीहरुलाई रोक्नको लागि सरकारको प्रयास निकै कम छ ।’
एल्बा रियो द जेनेरियोमा बसेको २० वर्ष भयो । एल्बाका अनुसार उनका धेरैजसो ग्राहक पुरुष छन् । उनी भन्छिन् ‘यो वास्तवमा कठिन छ किनकि सडकमा लगभग कोही छैन । म एक यौनकर्मी हुँ र यो मेरो लागि भयानक छ । ग्राहकको खोजीमा म अहिले पनि बाहिर जान्छु किनकि यदि म आफ्नो काममा गइन भने म भोकले मर्नेछु ।’ २६ वर्षकी स्टेफनी गोनक्लेभ दक्षिणपूर्वी ब्राजिलमा एक ट्रान्स यौनकर्मी हुन् ।
स्टेफनीका अनुसार रियोमा कोरोनाभाइरस फैलिएपछि जिन्दगी निकै कठिन भएको छ । स्टेफनीले भनिन् ‘ट्रान्सजेन्डर भएका कारण हाम्रो लागि पहिले पनि कठिनाइ कम थिएनन् र अब यो अझै बढी भएको छ । कोरोनाको खतरा हामीलाई धेरै छ त्यसैले अब म घरमै छु ।’ स्टेफनी अगाडि भन्छिन् ‘यौन कामको अलावा मैले कहिल्यै कुनै अरु काम गरिन् ।
खुसीको कुरा यहाँ केही मानिसहरु यस्ता छन् जो हाम्रो बाध्यता बुझ्छन् र मलाई खाना दिएर जान्छन् । यद्यपि यता मानिसहरु धेरै कम छन् ।’ एलजीबीटी समुदायको लागि काम गर्ने कैयौं संगठनले यिनीहरुको लागि खानाको व्यवस्था गरिरहेका छन् । यी संगठनले घरमा बसिरहेका यौनकर्मी ट्रान्सजेन्डरहरुलाई अन्य कामको विकल्प पनि दिइरहेका छन् । यीमध्ये केही यौनकर्मी अब घरमा बसेर फेस मास्क बनाउने काम गरिरहेका छन् । (द गार्डियन)
सत्यपाटी ।