सूचनाको शक्ति - The Power Of Information

        

बिहेको भोज खाँदा एकै गाउँका ३४ जना बिरामी

महेन्द्रनगर । कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् । बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् ।

बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

‘बिहेमा भोज खाएकाहरु शुक्रबार साँझदेखि एकसाथ बिरामी पर्न थाले । त्यसपछि राती नै अस्पताल पुर्याएका छौँ,’ नगर प्रमुख चन्दले भने । शुक्रवार राती बिरामी २९ जनालाई अस्पताल पुर्याइएको थियो ।

शनिवार बिहान थप ५ जनालाई अस्पताल पुर्याइएको छ । ‘भोज खाएका सबै बिरामी परेका छन् । ३४ जना अस्पतालमा छन् । अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधि किनेर खाएका छन्,’ नगर प्रमुख चन्दले भने ।

बिहे भोज खाएकाहरुमा ज्वरो आउने, पखला र वान्ता हुने समस्या देखिएको छ । बिरामी पर्नेमा महिला र बालबालिका बढि छन् । उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये एक जना भने आइसियूमा उपचाररत छन् ।

‘राती अस्पताल पुर्याउदा अवस्था जटिल थियो । त्यसैले आइसियूमा राखिएको होे । अहिले उहाँको अवस्थामा सुधार आएको छ,’ नगर प्रमुख चन्दले भने, ‘उहाँले भोजको अचार मात्रै खाएको पाइयो ।’

भोज खाने सबैलाई फूड प्वोइजन भएको चिकित्सकले बताएका छन् । अहिले सबै बिरामी खतरामुक्त छन् । भोज खाएर बिरामी परेकाहरुको कारण आज महाकाली अस्पताल भरिभराउ भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०८:३६